चुडामणि शर्मासँग तीन अर्ब धरौटी माग
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर छलीमा संलग्न रहेको भन्दै आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मासहित तीन जनालाई जनही रु तीन अर्बको धरौटी माग गरेको छ ।
आयोगका अनुसार साधारण तारेखमा छुट्नको लागि महानिर्देशक शर्मासँग रु तीन अर्ब धरौटी माग गरिएको हो ।
हाल १२५ कर छुटसम्बन्धी फाइल आयोगले अध्ययन गरिरहेको छ । एक हजार बढी कर छुटसम्बन्धी फाइलको अध्ययन गर्नुपर्ने आयोगको ठहर छ । यस्तै आयोगले तत्कालीन कर फछ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र उमेश ढकाललाई पनि रु तीन/तीन अर्बको धरौटी माग गरेको छ ।
महत र ढकाल फरार रहेको भन्दै आयोगले सार्वजनिक सूचनामार्फत जानकारी दिन आम नागरिकलाई आग्रह गरेको छ । आयोगको हिरासतमा रहेका महानिर्देशक शर्मालाई १९ जेठमा पक्राउ गरिएको थियो ।
आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई विभिन्न व्यावसायिक संस्था र प्रतिष्ठानलाई रु २० अर्ब बढी कर छुट दिएको आरोप लागेको छ । रासस