पोखराको रोपाईं महोत्सवमा रमाए विदेशी पर्यटक
पोखरा १६ बाटुलेचौर, अर्मलामा स्थानीय गोविन्द खड्का (६३) को खेतमा आज बिहानैदेखि स्वदेशी तथा विदेशी नागरिकको भिड लागेको थियो ।
अर्मलामा आयोजना गरिएको रोपाईं महोत्सव मनाउन उनीहरू खेतमा पुगेका थिए । स्थानीय नागरिक मात्रै हैन् विदेशी पर्यटकसमेत रोपाईं महोत्सवमा रमाए । स्थानीयसँगै विदेशी पर्यटकले बेपर्वाह एक अर्कालाई हिलो छ्यापे । महोत्सवमा उपस्थित भएर विदेशी पर्यटकले नेपालीको मुख्य बाली धान रोपाईको अनुभव बटुले । विदेशी पर्यटकलाई नेपाली जनजीवन र कृषि प्रणालीको बारेमा जानकारी गराउनका लागि रोपाईं महोत्सवको आयोजना गरिएको पर्यटन परिषद् पोखराका अध्यक्ष केदार शर्माले जानकारी दिए ।
१५ असारलाई बर्सेनि देशभर राष्ट्रिय धान दिवसका रूपमा मनाइन्छ । यस वर्षको नारा “दुई बाली धान खेतीको विस्तार, आर्थिक सम्वृद्धिको आधार” भन्ने रहेको छ । धान दिवसकै अवसरमा आयोजित मेलामा कास्कीका वरिष्ठ कृषि विकास अधिकृत लोकेन्द्र बोहोराले बर्खेधान र चैते धानको प्रवद्र्धन गर्न दुई बाली भनिएको प्रष्ट्याए ।
उनका अनुसार धान विश्वको तेस्रो खाद्यबाली हो । बर्सेनि विश्वमा ७४ करोड मेट्रिक टन धान उत्पादन हुन्छ ।
हालसम्म कास्कीमा ३३ प्रतिशत रोपाईं सकिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
कास्कीमा जेठोबुढो, झिनुवा, खुमल ४, खुमल ८ लगायतका परम्परागत एवं हाइब्रिड जातका धान रोपिन्छ ।
युवराज श्रेष्ठ, पोखरा