उपचार नपाउँदा सातापिच्छे सुत्केरीको मृत्यु
समयमै उपचार नपाउँदा जाजरकोटमा तीन सातामा तीन जना सुत्केरीको ज्यान गएको छ ।
पछिल्लो पटक १९ भदौमा रग्दा–४ रावतगाउँकी २८ वर्षीया मनकुमारी बोहराको ज्यान गएको हो ।
सुत्केरी व्यथा लागेर छटपटाएकी मनकुमारीलाई उपचारका लागि रुकुमको चौरजहारी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको रग्दा–४ चौखाका किशोर मल्लले जानकारी दिए ।
ब्यथा लागेपछि रग्दाको चौखास्थित स्वास्थ्य चौकीमा उपचारका लागि लगिएकी मनकुमारीको त्यहाँ उपचार हुन नसकेपछि बोकेर रुकुमको चौरजहारी मिसन अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
गत साता पजारु–३ की २१ वर्षीया रमिता बुढाको ब्यथा लागेकै बेला ज्यान गएको थियो । ११ कक्षामा अध्ययनरत उनलाई उपचारका लागि मोर्कबजार ल्याउँदै गर्दा बीचबाटोमै मृत्यु भएको थियो ।
जाजरकोटका स्वास्थ्य संस्थाहरुमा सुत्केरी महिलाहरुको रक्तस्राव रोक्नका लागि उपचार नहुँदा सुत्केरीले अकालैमा ज्यान गुमाउनु परेको छ ।
राजेन्द्र कार्की, जाजरकोट