सोलुखुम्बुको नेचा–सल्यानमा शून्य मतदान
सोलुखुम्बुको नेचा–सल्यान गाउँपालिका–६ तिङ्लामा शून्य मतदान भएको छ । स्थानीय तह पुनःसरचना आफ्नो अनुकूल नभएको भन्दै उनीहरुले विरोध स्वरुप मतदान गरेका छैनन् ।
नेचा–सल्यान–६, तिङ्लाका पाँचवटै मतदान केन्द्रमा खटिएका कर्मचारीले विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतपेटिका राखेर मतदान प्रक्रिया अगाडी बढाए पनि सो समयभित्र मतदानका लागि केन्द्रमा कोही पनि नआएको निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिए ।
त्यहाँ दुई हजार ४७६ मतदाता रहेका छन् । सो वडामा कसैले पनि उम्मेदवारी दिएको थिएन ।
सोलु दूधकुण्ड नगरपालिकाको सट्टा नेचा–सल्यान गाउँपालिकामा तिङ्लालाई समावेश गरेपछि स्थानीयले यसको विरोध गर्दै आएको सङ्घर्ष समितिका अध्यक्ष बालकुमार कार्कीले जानकारी दिए । स्थानीय सरोज बस्नेतले भोट दिन नपाउँदा नरामाइलो लागे पनि त्यो आफूहरुको बाध्यता भएको बताए ।रासस