कला/साहित्यबुधवार, आषाढ १४, २०७४

च्याउ चेतना (पुस्तक समिक्षा)

जीवनप्रसाद राई

३० जेठमा रामपुर, पाल्पाका चार वर्षीय रुपेश गाहाको विषालु च्याउ खाएका कारण मृत्यु भयो। घरका तीन जना गम्भीर बिरामी परे। रामपुरमै केहीअघि मात्रै विषालु च्याउकै कारण पाँच जनाको मृत्यु भएको थियो। अनुमानित तथ्यांक अनुसार, नेपालमा वर्षेनि विषालु च्याउको सेवनले १५ देखि २० जनाको मृत्यु हुने गरेको छ। त्यसैले सञ्चारमाध्यममा 'विषालु च्याउ खाएर मृत्यु' शीर्षकका समाचार टुटेको छैन। 

विश्वमा एक लाख पचास हजार च्याउका प्रजाति रहेको अनुमान छ, जसमध्ये तीन हजार प्रकारका च्याउहरूलाई परिभाषित गरिएको छ। तीमध्ये दुई हजार पाँच सय प्रजाति मात्र खान सकिने भनेर वैज्ञानिकहरूले प्रमाणित गरेका छन्।

'सबै च्याउ खान सकिन्छ तर कुनै च्याउ खाएपछि जीवनमा अर्को पटक च्याउ खाने अवसर प्राप्त नहुन सक्छ', विषाक्त च्याउबारे क्रोएसियाली उक्तिलाई स्मरण गर्दै नरबहादुर साउँद लेख्छन्।

पुस्तक: संगम च्याउखेती 

लेखक: नरबहादुर साउँद

प्रकाशक: संगम बुक्स् पब्लिकेशन प्रा.लि

पृष्ठ: ७१२+२०,

मूल्य:  रु.२०००

'नेपालका बालीनाली र तिनका दीगो खेती' नामक पुस्तकका लागि २०६७ सालको मदन पुरस्कार विजेता समेत रहेका साउँद लिखित सङ्गम च्याउखेती च्याउबारे गहन अध्ययन गरेर लेखिएको पहिलो पुस्तक हो। च्याउखेतीबारे केही हाते पुस्तिका र किताबहरू नलेखिएका होइनन्, तर यो पुस्तक त ग्रन्थ नै बनेको छ। लेखक साउँद स्वयं च्याउखेतीमा अनुभव सँगालेका व्यक्ति हुन्। उनको अनुभव पुस्तकाकारको रुपमा आउनु च्याउखेती कृषकका लागि मात्र होइन, कर्मचारी र अनुसन्धाताका लागि समेत सम्पत्ति बनेको छ।

पुस्तक मुख्यतः चार खण्डमा विभाजित छ। पहिलो खण्डमा च्याउ अर्थात् ढुसी बारे छ, जसमा ढुसीको जीवनचक्रको व्याख्या गरिएको छ। दोस्रो खण्डमा च्याउको विवरण, पौष्टिक तत्व, औषधीय गुण, महत्व, विषालु च्याउ, खान योग्य र अयोग्य च्याउको वर्णन छ। तेस्रो खण्डमा भने च्याउखेतीको इतिहास र वर्तमानबारे विस्तार गरिएको छ। खान योग्य च्याउहरूको खेती, आयआर्जनको सम्भावना, बीउ उत्पादन तरिका पनि समेटिएका छन्। चौथो खण्डमा चाहिं जंगली च्याउहरूको वर्णन छ, जसमा हिमाली क्षेत्रमा पाइने गुछी, यार्साका साथै ट्रफल (कालो हीरा) च्याउका सम्बन्धमा अहिलेसम्म थाहा नपाएका कुराको जानकारी छ।

च्याउ भनेको ढुसी नै हो, ढुसी विना पाउरोटी, एन्टिबायोटिक औषधि, चीज मात्र होइन मदिरा पनि बन्दैन। पुस्तकमा ढुसीको जन्म चार अर्ब वर्ष पहिले नै भएको र यो वनस्पतिभन्दा जीवजन्तुसँग बढ्ता मेल खाने, मिल्ने तर्क गरिएको छ। तर, 'सबै च्याउ ढुसी हुन् तर सबै ढुसी चाहिं च्याउ हैनन्' भनिएका कुरा पनि विचारणीय छन्।

ओरेगन ब्लु माउन्टेनमा सल्ला जातको जरामा फैलिएको अर्मीलारिया आस्टो ढुसी संसारको सबभन्दा ठूलो मानिएको छ। यसको तौल १०० टन र आयु ८ हजार ६०० वर्ष भएको बताइएको छ। आँखाले नदेखिने सूक्ष्म तन्तु मिलेर यस्तो विशाल ढुसीको डल्लो तयार हुनु आश्चर्य नै हो। ढुसी न्यूनतम २ देखि ५ डिग्री र अधिकतम २५ देखि ४० डिग्री तापक्रमसम्ममा जीवित रहन्छ त्यसैले पनि मासुमा ढुसी नपरोस् भनेरै माइनस ५ देखि ७ डिग्री तापक्रममा फ्रिजमा राखिन्छ। उदेकलाग्दो कुरा त, ढुसीले पनि सन्तान उत्पादन गर्छन्। पुस्तकमा ढुसीसम्बन्धी यस्ता रोचक कुरा प्रशस्त छन्।

किसानका लागि पुस्तकको खण्ड तीनको १३औं अध्याय विशेष छ। 'विविध च्याउको खेती' शीर्षकको यो अध्यायले गोब्रे, कन्ये, पराले, दूधिया, ग्रीष्मे गोब्रे, स्टोफारिया, मृगे, काने, चिप्ले, पटपटे, डाडु, बुनासिमेजी, लामो जालीदार गनाउने, ब्राजिलियन एग्रोसाइब सिलिन्डेसिया र सेतो कत्ले च्याउ खेती गर्ने तरिकालाई लेखकले सामान्य भाषामा बुझाउने प्रयत्न गरेका छन्। सरकार, निजी क्षेत्र र सहकारी क्षेत्रले भने डाडुच्याउ अर्थात् ग्यानोडार्माको खेतीमा ध्यान दिन लेखकले सुझाएका छन्। यसको कारण तरकारी नभई औषधिका लागि हो, जसको उत्पादनबाट मुलुकलाई धनी बनाउन सकिने उनको दाबी छ।

च्याउको औषधीय गुण र विषालुपन बारे सचित्र बर्णन गरिनुले पुस्तकको महत्ता बढाएको छ। विषालु च्याउको चित्रसहितको वर्णनले जो कसैले पनि ती च्याउ चिन्न सकिने बनाएको छ। बरु डिजाइनका क्रममा प्रत्येक अध्यायमा राखिएको संकेतमा सिताके वा ग्यानोडार्मा भएको भए सुगन्ध हुनेथियो। यो पुस्तकलाई जतिसक्दो धेरै ठाउँमा राख्न सकियो, त्यति नै सर्वसाधारणको जीवन जोगिने देखिन्छ। नेपालमा पाइने अधिकांश च्याउ स्थानीय भाषामा दिइनु पुस्तकको अर्को सफलता हो।

शारीरिक अशक्तता बोकेरै पनि आफूले जानेका कुरा बाँड्नुपर्छ भन्ने लेखक साउँदको सोचलाई सलाम! तर, त्योभन्दा पनि महत्वपूर्ण चाहिं साउँदले सिकाएका च्याउखेतीबाट लाभ लिनसक्नु र चिनाएका विषालु च्याउँबाट गरीबको अकाल मृत्यु जोगाउन सक्नु हो।

 

प्रतिकृया दिनुहोस