झडपपछि बझाङकाे जयपृथ्वी नगरपालिकामा मतदान स्थगित
बझाङ जिल्ला सदरमुकाम जयपृथ्वी नगरपालिका–३ को पाण्डु मावि मतदान केन्द्रमा नेपाली कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएपछि मतदान स्थगित भएको छ ।
झडपपछि मतदान स्थलको स्थिति तनावपूर्ण बनेपछि मतदान स्थगित गरिएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक रोमेन्द्र देउजाले जानकारी दिए । झडप किन भएको भन्ने जानकारी हुन सकेको छैन ।
त्यसैगरी अछामको बैजनाथ गाउँपालिकामा पनि कांग्रेस–एमालेको झडपका कारण मतदान स्थगित गरिएको छ ।
अछामकै मेल्लेख गाउँपालिकाको नन्देश्वरी मालिगाड मतदान केन्द्रमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच पनि झडप भएको छ ।
मतदानस्थल बाहिर झडप भई स्थिति तनावपूर्ण बनेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको थियाे। अहिले सो केन्द्रमा स्थिति सामान्य भई मतदान पुनः सञ्चालन भएको छ । रासस