टिप्पणीबुधवार, आषाढ १४, २०७४

मनसुनमा मधेश

चन्द्रकिशोर

जीविकासँग जोडिएको मनसुनले निम्त्याउने विपत्तिसँग जुध्ने मधेशी समाजको परम्परागत ज्ञान क्रमशः लोप हुँदैछ ।

तस्वीरः हिमाल अर्काइभ

बदरिया घेरि–घेरि के रिमझिम रिमझिम पानी बरसै

माने ना मनमानी बरसै, मानै ना मनमानी बरसै ना! (अवधी)

कहवाँ से आबैले कारी बदरिया पडैले झीर–झीर बुनियाँ

गोइयाँ कहवाँ से आवैं हरियरिया पडैले झीर–झीर बुनियाँ

पूरुब से आबैले कारी बदरिया पडैले झीर–झीर बुनियाँ (भोजपुरी)

हरे रामा चमकल अछि खेतवा में हरवा

रोपे रोपनिया ए हरि

हरे रामा ...। (मैथिली)

मधेशको लोक जीवनमा मनसुनी वर्षासँग जोडिएका यस्ता अनेकन भावधारा छन्, जसले मधेशी समाज चिनाउँछ। मनसुनको प्रतीक्षा र स्वागत गर्ने बेग्लै परम्परा छ, मधेशमा। किनभने मनसुनी वर्षाले यहाँको जीविका धानेको छ। मैथिली, भोजपुरी, अवधी, थारू वा वज्जिका– तराईका जुनसुकै भाषामा मनसुनी वर्षासँग जोडिने प्रशस्त लोकगीत छन्। मधेशी समाज र संस्कृतिको नसा–नसामा मनसुनी वर्षा आनन्द र उत्सव बनेर प्रकट हुन्छ। लाग्छ, मधेशको दैनन्दिनलाई मनसुनी वर्षाले लय र सुर दिन्छ। 

मनसुनको सदुपयोग गर्ने बहुआयामिक पारम्परिक ज्ञान पनि छ, मधेशसँग । गाउँ–देहातमा वर्षा लाग्नुअघि घरको छानो खपडा वा खरले छाएर मनसुनसँग जुध्ने पूर्वतयारी थालिन्छ। वर्षात् अगावै सुक्खा माटो ल्याएर आँगनमा राखिन्छ, जुन घर लिपपोत, खाल्डो पुर्ने, प्वाल टाल्ने जस्ता काममा प्रयोग हुन्छ। गाईबस्तु बाँध्ने ग्वालीमा दिनहुँ गोवर सफा गर्दा हुने खाल्डो पुर्ने कामदेखि दाउरा र सुक्खा तरकारीसम्मको जोहो वर्षात्अघि नै गरिन्छ। गाईबस्तुलाई खुवाउने पराल वा दानाको जुगाड पनि वर्षाअघि नै हुन्छ। आवधिक 'इभेन्ट' का रूपमा भित्रिने मनसुनसँग गाउँ–देहातले यसरी बेजोडको तादात्म्य मिलाउने गरेको छ ।

जलवायुको प्रभाव मानिसको आर्थिक क्रियाकलापमा पर्छ नै। कृषिदेखि उद्यम–व्यापारसम्म त्यसबाट अछुतो रहँदैनन्। मधेशको जलवायुको केही छुट्टै विशेषता छन्। सम्पूर्ण तराईभर एकैपटक मनसुन भित्रिन्न। मेची किनार आइपुगेको मनसुन एक डेढ सातापछि मात्र महाकाली पुग्छ। वर्षा पनि सबैतिर एकनास हुँदैन ।

तर, सबैतिर एउटा खास मौसम (मनसुन) अर्थात् असारदेखि असोज–कात्तिकसम्म वर्षा हुने हुँदा महत्वपूर्ण बालीनाली लगाउन यही मौका छोप्नुपर्छ। अहिले पनि सिंचाइ सुविधा नभएको तराईमा वर्षाको व्यग्र प्रतीक्षा हुन्छ। वर्षाको अनिश्चितताले कहिले अतिवृष्टि त कहिले अनावृष्टि हुन्छ। पछिल्ला वर्षहरूमा यो चक्र झ्न्–झ्न् निर्दयी बन्दै आएको छ ।

मधेशको कृषिलाई 'मनसुनी हावासँगको जुवा' भन्ने गरिन्छ। अतिवृष्टि वा अनावृष्टिले बालीनालीमा मात्र नभई पशुपालन र कृषिमा आधारित उद्योगमा समेत गम्भीर असर पार्छ। किसानको खेतीपाती र कृषि उद्यमीहरूको व्यापार–व्यवसायसँग प्रत्यक्ष जोडिएको मनसुनी वर्षाले कुनै साल मधेशमा भयानक बाढी ल्याउँछ। बाढीका अनेक नाम छन्, मधेशमा। नदीको भेल उर्लिएर खेतमा पाँगो माटो ल्याइदियो भने त्यो 'दाहर' वा 'बाढ' हुन्छ, जुन गुणकारी भइदिन्छ। घर–आँगनमै आइपुग्ने नदीको भेललाई 'बोह' भनिन्छ। घरहरू डुबाउने र गाईबस्तु बगाउने गरी आयो भने त्यही भेल 'बाढहुम्मा' कहलाउँछ ।

बाढीले निम्त्याउने विपत्तिबाट बच्ने कला विकास गरेको मधेशी समाज हिजो पानीको मात्रा अनुसार आउने विपत्ति बारेमा जानकार थियो। तर, अहिले बदलिएको सामाजिक–आर्थिक परिवेशलाई न मनसुनसँग तालमेल गर्न सकिएको छ न त दैनिकीलाई मनसुनसँग जोड्न ।

मधेशको जनजीवनमा खेतीकिसानी लोक पर्व झैं हुन्छ। खासगरी मनसुनमा आधारित खेतीका क्रममा बीउ छर्ने (मुठ देहल), पहिलो दिनको रोपाइँ (गवलगी), अन्तिम दिनको रोपाइँ (कदवापखार) जस्ता अवसरलाई किसानहरूले सामुदायिक पर्वकै रूपमा मनाउँछन्। मनसुनी बादलको बहावले कस्तो पानी पार्छ, त्यसबेला के गर्नुपर्छ भन्नेबारे चलेका लोक कहावतहरू मधेशको जनजीवनमा धेरथोर बचेका छन्। यस्ता भविष्यवाणीहरू प्रामाणिक लाग्छन्। यसरी भविष्यवाणी गर्ने 'घाघ' हरूलाई कतै 'डाक' त कतै 'घाघरी' भनिन्छ ।

थोडक152 जोतिह अधिक महिअबिह

ऊँच क152 बान्हिह आरि

ताहू पर यदि नहि उपजै तँ

डाक के पढिह गारि

(राम्ररी जोत्ने, सम्याउने अनि आली अग्लो र बलियो बनाउने। त्यति गर्दा पनि बाली राम्रो भएन भने डाक अर्थात् घाघलाई गाली गर्ने।)

रोहिनी बरसै मृग तपै कुछ कुछ अदरा ।

कहै घाघ सुने घाघिनी स्वान भात नहीं खाय ।

(रोहिणी नक्षत्रमा वर्षा, मृगशिरामा सुक्खा र फेरि आर्द्रमा साधारण वर्षा भयो भने उब्जनी यति हुन्छ कि कुकुरले पनि भात खाएर धान सकिंदैन।)

मनसुनको मिजास

मधेशी लोकजीवनमा वर्षालाई लिएर अनेक लोकोक्ति छन् । जस्तो–

सावन आइ गये मनभावन, बदरा घिरि–घिरि आवै ना

बदरा गरजै बिजुरी चमकै, पवन चलति पुरवैया ना

रिमझिम–रिमझिम मेहा बरसै, धरती काँ नहवावै ना

(मनै हर्ने साउन आयो, बादल घेरिएर आयो, बादल गर्जिन्छ, बिजुली चम्किन्छ, पूर्वी बतास चल्दो छ, रिमझिम रिमझिम मेघ बर्सिंदै धर्तीलाई नुहाउँदैछ।)

हरवा जोतत तोर गोडवा पिरइले

रुपया के मुँह नाही देखली रे पिअवा

(बडो परिश्रमसाथ खेतमा हलो जोतेर पतिले भित्र्याएको अन्नको कमाइ पत्नीले पाउँदिनन्।)

असार्ह मास गरजेला चहुँ ओर

बोलेला पपीह कुहँकेला मोर

बलखेली कोसिला अवधपुर धाम

भिजत होइहै लखन सिय राम।

(वनवासका बेला राम र लक्ष्मण असारे पानीले भिज्दै होलान् भनेर कौशल्याले गरेको चिन्ता।)

कहाँ से घटा उमडइले कहाँ जल बरिसे हो।

धीरे धीरे कहाँ जल बरिसे हो

ओढाव पिया लाली रजइया करेजा मोर काँपे हो

धीरे–धीरे करेजा मोर काँपे हो।

(कहाँबाट यो बादल आयो, कहाँबाट पानी पर्‍यो, मलाई रातो ओढ्ने ओढाऊ प्रिय! मेरो कलेजो काप्यो।)

रोजीरोटीका लागि विदेशिएका पति फर्किऊन् भन्ने पत्नी होऊन् या रुझदै खेतमा खटिएका सन्तानप्रतिको आमाको माया, मधेशका लोकभाकाहरूमा सबै भाव भेटिन्छन्। वर्षालाई विपत् नभई अवसर मान्ने र अप्ठेरोबीच जीवन सहज बनाउने युक्तिसहितका भावहरू यस्ता लोकगीतहरूमा अभिव्यञ्जित हुन्छन्। मनसुनसँग हुने आवधिक आमनेसामनेलाई वरदान मान्दै त्यसलाई सामाजिक–आर्थिक उन्नतिसँग जोड्ने ज्ञानले मधेशको समाजलाई शताब्दीऔंदेखि जोगाएर राख्यो। अहिले भने यो रैथाने ज्ञान हराउँदैछ, जीवनशैली फेरिंदैछ र मनसुन अपरिचित लाग्न थालेको छ ।

मधेशी जनमानसमा खेतखलिहानकै कुरा हराउँदै जाँदा मनसुनको मिजास चिन्ने 'घाघ' का भविष्यवाणीसँग आफ्नो दिनचर्या जोडेर बस्ने पुस्ता सकिंदैछ। यस्ता कुरामा बौद्धिक विमर्श गर्न कुनै दाताले लगानी पनि गर्दैन। राजनीतिक वृत्त र राज्यसंयन्त्रका निम्ति त बाढी वा सुक्खा कमाउने अवसर बन्दैछ भने विप्रेषणले थिचिंदै गएको मधेशको अर्थतन्त्र न खेतीकिसानीबाट टाढा बस्न सकेको छ, न नयाँ क्षेत्रसँग तालमेल मिलाउन। परिणाम, मनसुनको सामना गर्ने क्षमतामा ह्रास आएको छ ।

यति हुँदाहुँदै पनि मनसुन कोप भएर प्रकट हुँदा आपसी मेलजोलबाट त्यसको सामना गर्ने चलन भने हराएको छैन ।

प्रतिकृया दिनुहोस