राजपाको बन्दले प्रदेश नं २ प्रभावित
स्थानीय तहको निर्वाचन बहिष्कार गर्दै राष्ट्रिय जनता पार्टी (राजपा)ले आह्वान गरेको बन्दका कारण प्रदेश नं २ को जनजीवन प्रभावित भएको छ ।
राजपाले प्रदेश नं २ लगायत मधेस र थरुहट क्षेत्र बन्द आह्वान गरेको हो । तर, प्रदेश नं २ बाहेक अन्य स्थानमा बन्दको प्रभाव परेको छैन । प्रदेश नं २ मा २ असोजमा निर्वाचन हुनेछ । राजपाले आज भइरहेको निर्वाचनको विरुद्धमा बन्द आह्वान गरेको हो ।
राजपाले बन्द आह्वान गरेको भए पनि मधेसी बाहुल्य रहेको क्षेत्रमा शान्तिपूर्ण रूपमा निर्वाचन भइरहेको छ ।
बन्दका कारण प्रदेश नं २ मा छोटा तथा लामो दुरीका सवारी साधन, शैक्षिक संस्था, कलकारखाना, बजार, पसल ठप्प रहेका छन् ।
राजपाका कार्यकर्ताले बिहानैदेखि ठाँउठाँउमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
जियालाल साह, पर्सा