पेट्रोल डिलरमा आगलागी हुँदा महिलाको मृत्यु, चार घाईते
जाजरकोटमा पेट्रोल विक्री गर्ने नेपाल आयल निगमको थोक विक्रेता पसलमा आगो लाग्दा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
जाजरकोटको भेरीमालिका नगरपालिका–४ मा रहेको पेट्रोल डिलरमा आगलागी हुँदा नायकबाडा– २ की १८ वर्षीया संगीता खत्री बोहराको मृत्यु भएको छ ।
पेट्रोल डिलर नजिकैको अर्को कोठामा बोहोराका माइतीले होटल सञ्चालन गरेका थिए । तीजमा माइती आएकी बोहोराको जलेर मृत्यु भएको हो ।
डिलरमा लागेको आगो सल्किएर होटलमा पनि आगो लागेपछि उनको ज्यान गएको हो । आगोबाट उनका बुवा कार्कीगाउँका–७ का मानसिंह खत्री घाईते भएका छन् ।
अन्य घाइतेमा डिलर सञ्चालन गर्ने रुकुम चौरजहारी– ७ का २३ वर्षीय प्रेमबहादुर राना, १८ वर्षीय गोकर्ण चन्द र सल्यान डाँडा गाउँका प्रहरी जवान रमेश शाह रहेको प्रहरीले जनाएको छ ।
“पेट्रोलको गन्ध आएपछि के भएछ भन्दै घरभित्र छिरेको थिएँ”, प्रहरी जवान शाहले भने, “म छिर्ने बित्तिकै आगो सल्कीहल्यो घरको तेस्रो तलाबाट हाम हालेर ज्यान जोगाएँ ।”
घाईते चारै जनाले तेस्रो तलाबाट हाम फाल्दा घाइते भएका हुन् । संगीता भाग्न नसक्दा आगोले डढेर ज्यान गएको प्रहरीले जनाएको छ ।
घाइते चारै जनाको जिल्ला स्वास्थ्य कार्यालयमा प्राथमिक उपचार गरिसकेपछि थप उपचारका लागि नेपालगञ्ज पठाईएको प्रहरीले जनाएको छ ।
ड्रमबाट जर्किनमा तेल खन्याउदै गर्दा भरिएर तेल अगेनामा पुगेपछि आगो लागेको हो ।
१२ वटा तेलका ड्रममा ४ वटा जलेका छन् । लोकेन्द्र शाहीको घर भाडा लिएर एउटा कोठामा प्रेमबहादुर रानाले पेट्रोल डिलर सञ्चालन गरेका थिए । अर्को कोठामा मानसिंहले होटल खोलेका थिए ।
११ बजे लागेको आगो स्थानीय, प्रहरी, सेना, रेडक्रसको सहयोगमा ४५ मिनेटपछि निभाउन सकिएको थियो । आगोमा परेर दुई वटा मोटरसाइकल र घर जेलको प्रहरी निरीक्षक हिक्मत बोहराले बताए ।
राजेन्द्र कार्की, जाजरकोट