टिप्पणीमंगलवार, आषाढ १३, २०७४

किन नरमाउने, यो मनसुनमा !

केदार शर्मा

आफ्नो उत्पत्तिसँगै मानव जातिले निरन्तर साक्षात्कार गर्दै आएको मनसुनले यस क्षेत्रलाई जीवन्त बनाएको त छ नै, मानव जीवनलाई धनधान्य पनि बनाएको छ। अनि किन हामी नरमाउने, यो मनसुनमा !

तस्वीरः बिक्रम राई

रिमझिम रिमझिम पानी पर्ला

स्वर मिलाई गीत गाउँला

बिजुली चम्की म नडराई

तिम्रै छेउमा आउँला ।

आज बिहानैदेखि बबी पन्तका शब्द र सङ्गीतमा कुमार बस्नेत मेरा मनमा गुनगुनाइरहेका छन्। मनको आँगनमा वर्षासित सम्बन्धित अरू अनेक गीत–कविता पनि स्याट्टसुट्ट यताउता गरिरहेका छन् । 

मनसुनबारे लेख्न बसेको छु। टीनको छानामा झरीको एकनासे धुन बजिरहेको छ। तीन दिनअघि चट्याङको झिल्कोले एडीएसएल राउटर उडाइदिएपछि मेरो सञ्चार–सम्पर्क फोनको धिपधिपे डेटामा सीमित भएको छ । संयोग, दुई दिनलाई घरमा एक्लै पनि छु। संस्कृत र नेपाली (जीवनाथ उपाध्याय अधिकारीद्वारा अनूदित) दुवै संस्करण साथमा राखेर मेघदूत पढ्ने जमर्को गर्दैछु। मन बडो मनसुनी भएको छ। प्रिय पाठक, तपाईंलाई कस्तो छ? तपाईंको तन र मनलाई यो मनसुनी वर्षाले कसरी भिजाउँदैछ ?

करीब १७०० मिटर उँचाइमा इलामको यो करफोक डाँडामा सामान्य बतास चल्दै छड्के पानी पर्न थाल्छ। झिल्के चिनियाँ छाताहरूले कत्ति पनि हावा थेग्दैनन्। नयाँ–नयाँमै यसको एक दुईवटा करङ बाङ्गिएको देख्दा चीनमा चाहिं छड्के पानी पर्दैन कि क्या हो जस्तो लाग्छ। खेतबारी, वनपाखामा काम गर्नेहरूले त भिज्नबाट जोगिने प्रयास गरेजस्तो गर्दै वर्षासित आत्मसमर्पण नगरी धर छैन। बर्खामा चियाबारीमा काम गर्नुको अर्थ चियाका भिजेका पातहरूबाट शरीरको तल्लो भागलाई सधैं भिजाइरहनु बराबर हो ।

र पनि प्रतीक्षित बर्खा

बर्खा बडो धडाहा हुन्छ। के पहाड, के मधेश, निरन्तर परेपछि वर्षा उति सुखद पनि हुँदैन। जलाधारविद् मधुकर पाध्याका अनुसार, 'हामी अति धेरै र अति कम पानीका बीचमा बाँचेका छौं। वर्षाका तीन महीना हामीले चाहिनेभन्दा धेरै बढी पानीको सामना गर्नुपर्छ र बाँकी नौ महीना चाहिनेभन्दा कम पानीले काम चलाउनुपर्छ।' तर, जति धेरै पानी परे पनि बर्खाको प्रतीक्षा हुन्छ ।

यो वर्ष छिट्टै पानी परेकाले वर्षाको न्यास्रो लाग्न पाएन। तर पनि मनसुनको महत्व बुझेका किसान वैशाखमै डराएका थिए। अहिलेको झरीले पछि खडेरी निम्त्याउने डर थियो ।

धन्न त्यस्तो भएन। वैशाखदेखि राम्रैसित पानी परिरह्यो र मनसुन पनि बेलैमा आयो। मनसुनी वर्षाले माटो नभिजाई मूल फुट्दैन। पानीका मुहानहरूलाई वर्षभरिका लागि पुनर्जीवन दिने मनसुनैले हो। धान रोप्न हुने गरी खेतको माटो गलाउने पनि मनसुनी वर्षाले नै हो। बेंसीतिर रोपाइँ शुरू भयो, बस्तुभाउका लागि घाँसको दुःख रहेन। बेलामा पानी नपरे 'सितो न सेतो' (न धानको भात न त गोरस) भइन्छ। बेलैमा राम्रोसित पानी परे किसानको हातमा 'दुई पैसा' पर्ने मेलो पनि हुन्छ। योपल्ट बेलैदेखि पानी परेकाले मधेश र्झ्ने ट्रकमा तरकारीका भारी थपिएका छन् ।

महाकवि देवकोटाले 'फुल्दो गुलाफबिच ज्ञान अनेक फुल्छन्, उद्यानमा बस गई सब तत्व खुल्छन्' भने जस्तै, गाउँमा बसेर जमीनसित नजिक भएपछि मौसमलाई हेर्ने दृष्टिकोण फेरिंदो रहेछ। गाउँमा बस्न थालेपछि मैले बुझें– घाम लाग्नुलाई 'मौसम सफा हुनु' भन्ने शहरको भाषा रै'छ। किसानका लागि पानी पर्नु भनेको मौसम बिग्रिनु होइन। धन्न आज दिन उघि्रएन र शहरका मान्छेले भन्ने 'सफा मौसम' भएन। बरु, यो हपहपी गर्मी मौसममा घाम पनि लाग्दा बेहोर्नुपर्ने कष्टले 'मौसम बिग्रेको' भन्न कर लाग्छ। गर्मीमा टन्टलापुर घाम भन्दा बादल लागेकै आकाश सुहाउँदिलो लाग्छ ।

वर्षा गराउने त्यो बादल (मेघ/पर्जन्य) लाई पूर्वीय साहित्यमा 'सृष्टिका पिता' को मान्यता दिइएको पाइन्छ। अथर्व वेदको पृथ्वी सूक्तमा आधारित आफ्नो काव्य धर्तीमाता मा कविवर माधवप्रसाद घिमिरेले 'पर्जन्य जो सिर्जनका पिता हुन्, यै मृत्तिकामा रस बर्सि आऊन्' भनेका छन्। समुद्रको नुनिलो पानीलाई पेयजल 'बनाइदिएको' जस दिंदै ऋतु–विचार मा लेखनाथ पौड्याल लेख्छन्– सारा सागरको खार चालने चलनी–सरी

घुमदै स्वादिलो पानी मेघ छर्दछ छर्छरी। (वर्षा–विचार)

पृथ्वीलाई सिंचन गर्न उति टाढा समुद्रबाट पानीको भारी बोकेर आएको बादल, पृथ्वीको प्रेम र अभिसारको चित्रण गर्दै लेखनाथ थप्छन्–

पहिले पृथिवी–माथि वर्षंदा जल दर्दरी

सुगन्धी वाफ निस्कन्छ आनन्दोच्छ्वास झैं गरी।

साना सीकरले सारा अङ्ग सारा रसाउँछ

स्वर्गीय सुख–वर्षाको मनमा हर्ष आउँछ ।

रसले रसिली पारी तातेकी पृथिवीकन

नगीचैमा बसी मेघ लाग्यो भारी मजा लिन। (वर्षा–विचार)

कविवर घिमिरे अझ् नौलो किसिमले, झ्नै श्रृङ्गारिक पारेर, धेरै अर्थ र आशयले भरेर लेख्छन्–

डुक्रन्छ साँढेसरि मेघ हेर

माटो यही हर्हरिंदो सुँघेर

चम्कन्छ विद्युत् अनि र्झ्छ पानी

माटो र पानी मिलि जिन्दगानी। (धर्तीमाता)

वर्षा सृजनाको याम हो। सृजनालाई प्रकृतिले नै प्रेम, प्रीति, श्रृङ्गार आदिसित जोडिदिएको छ। जहाँ प्रेम हुन्छ, त्यहाँ रतिराग र वियोग पनि हुन्छ। त्यसैले कविहरूका हृदयमा रहेका श्रृङ्गार रसका तारहरू वर्षायाममा निकै मजाले बजेको पाइन्छ। पाँचौं–छैटौं शताब्दीका कवि कालिदासको प्रसिद्ध काव्य मेघदूत कारणवश एक वर्षका लागि प्रवासको दण्ड भोगिरहेको एउटा विरही (यक्ष) को पत्नी वियोगको कथा हो। वर्षायाम शुरू हुन लाग्दा प्रकट भएका मौसम र परिवेशका विभिन्न छटाहरूबाट यक्षलाई आफ्नी प्रियतमाको बढी नै याद आउँछ। उसले आफ्नी विरहिणी पत्नीको अवस्था पनि कल्पना गरेर गम्भीर र गुणी बादलको हात पठाएको प्रणयसन्देश मेघदूत संस्कृत साहित्यको अध्ययन गरेका हरेक व्यक्तिले प्रत्येक वर्षायाममा सम्झिने काव्य हो ।

आषाढस्य प्रथमदिवसे मेघमाश्लिष्ट सानुं

वप्रक्रीडापरिणत गजप्रेक्षणीयं ददर्श ।

(एक दिन एक गते असार उसले देख्यो चुलीमास्थित पर्वतलाई सिंगौरी हान्न कसिंदो हात्तीसरी बादल– जीवनाथ उपाध्याय अधिकारी)

वर्षाले धेरैलाई धेरै लेखाएको छ। नेपालीमा पनि वर्षासित सम्बन्धित गीत–कविताको ठूलो र रसिलो भण्डार छ। माधव घिमिरे लेख्छन्,

असारको पैलो झ्री परुर्‍यो सिमीसिमी

पर्वतकी किन्नरी हे कहाँ रुझयौ तिमी वा वर्षातले धोई धोई नीर यसै राम्रो

त्यसै पनि रोई रोई पीर अझै राम्रो

पैलो पालि लागेजस्तो विरह यसै पालि

किन्नरीले सासै फेर्दा रूपै फेर्न थाली ।

संसारभरका मौसमी वर्षा गराउने प्रणालीलाई 'मनसुन' भनिन्छ। गर्मी याममा पानीभन्दा जमीन बढी तातेर त्यहाँको वायु माथि उड्छ। त्यो खालि ठाउँमा समुद्रमाथिको तुलनात्मक रूपमा चिसो र आर्द्र वायु जान्छ। त्यो आर्द्र वायु पनि तातेर माथितिर उड्छ र चिसिंदै गएपछि त्यसको पानी धारण गर्ने क्षमता घटेर त्यसबाट पानीका कणहरू निःसृत हुन थाल्छन्। माथिको बादल वर्षादको रूपमा पृथ्वीमा झरेपछि रिक्त ठाउँमा तलबाट फेरि आर्द्र वायु जान्छ। यो क्रम केही महीनापछि रोकिन्छ, जब पृथ्वी आफ्नो कक्षमा अघि बढ्ने क्रममा हाम्रो गोलार्द्ध कम तातो हुँदै जान्छ।

विश्वमा धेरैवटा मनसुन प्रणालीहरू छन्। हामीकहाँ जीवनदायी वर्षा गराउने मनसुन बङ्गालको खाडीबाट उठ्ने आर्द्र वायुका कारण हुन्छ। यसलाई भूगोलको भाषामा दक्षिणपूर्वी मनसुन भनिन्छ ।

पाँच करोड वर्षअघि हिमालय पर्वत श्रृंखलाको प्रादुर्भावसँगै यो मनसुन प्रणालीका लागि भौगोलिक आधार तयार भएको हो। हाम्रो मनसुन अहिलेको रूपमा विकसित भएको भने डेढ दुई करोड वर्ष भएको वैज्ञानिकहरूको निष्कर्ष छ। अर्थात्, यो धेरै पुरानो प्राकृतिक प्रणाली हो। भूमध्यरेखाभन्दा उत्तर र दक्षिण दुवैतर्फ रहेका ठूल्ठूला मरुभूमिहरू हेर्दा स्पष्ट हुन्छ, हिमालय पर्वत र यो मनसुन प्रणालीले नै यस भूभागलाई यति रसिलो, मलिलो र भरिलो बनाएको हो ।

यो भूगोल र मनसुन प्रणालीका तुलनामा अत्यन्त साना र कान्छा हामी (मानवजाति, जसले खुट्टा टेकेर उभिएको करीब दुई लाख वर्ष भयो) ले यसलाई पछ्याउने, यसबाट सकेसम्म लाभ लिने र जोगिने मात्र हो। हामीले त यसको आनन्द लिने र यसका बारेमा कविता–काव्य सृजना गर्ने वा यसका अनियमित गतिविधिबाट जीव र प्रकृतिमा पर्न सक्ने असरहरूलाई कम गराउने प्रयत्न गर्ने मात्र हो। म भने यो महान भौगोलिक र मौसमी वर्षात् प्रणालीको सदस्य हुनका लागि जानी नजानी शताब्दीयौंसम्म बसाइँ सर्दै हिमालय पर्वतको दक्षिणपट्टिको यस भूभागमा आएर बसोबास गर्ने पुर्खाहरूप्रति कृतज्ञता पनि व्यक्त गर्छु ।

बाढीको पीर

मेघाच्छन्न करफोकमा, तुलनात्मक रूपमा सुरक्षित ठाउँमा बसेर वर्षाको बढाइँ गरिरहँदा यसको धमिलो पक्ष पनि मनबाट हटेको छैन। वर्षेनि बाढीको डरमा बाँच्नुपर्ने ती ठाउँहरू सम्झिरहेको छु, जसमा राजमार्ग र नदीका बीचमा जबरजस्तीसित बनाइएका कैयन् जोखिमपूर्ण व्यापारिक बस्ती पनि छन्। लोभवश नियम नाघेर बनाइएका बस्ती भए पनि त्यहाँ बस्ने त मानिस नै हुन्। तिनीहरूलाई पहिले नियम मिचेर बनाउनु नहुने ठाउँमा घर बनाउने र पछि क्षतिपूर्ति माग्ने अवस्थामा पर्न नदिन सरकारले नै केही गर्नुपर्छ ।

म बिरिङ खोलाको जलाधार क्षेत्रमा बस्छु। सानो जलाधार क्षेत्र भएको सानै खोलो भइकन पनि आफ्नो बदमासीका कारण बिरिङ झापामा निकै बदनाम छ। अलि ठूलो पानी पर्दा हामीलाई झापाको पीर लाग्छ। पानी पर्नु र तलतिर बग्नुमा कसैको दोष छैन, र पनि यहाँ केही गर्न सके त कस्तो हुँदो हो जस्तो लाग्छ। पहिले यता अलैंची घारीहरू थिए। तिनले खोल्साहरूका भल नियन्त्रण गरेर बाढीको वेग कम गराउँथे। अहिले अलैंची मासियो र चिया आयो। चिया पकाउँदा मात्र पानी चाहिन्छ। अघिपछि न त्यसले पानी माग्छ न त पानीको वेगलाई प्रभावकारी ढङ्गले रोकिदिन्छ। यद्यपि, भूक्षय नियन्त्रणमा चियाबारीको महत्वपूर्ण भूमिका हुन्छ ।

पहाडका घरैपिच्छे पानी भकारीहरू बनाउने हो भने करोडौं लीटर पानी जम्मा हुन्थ्यो वा कमसेकम त्यसको वेग कम हुन्थ्यो। पानी भकारी बनाउने किसानलाई त फाइदा हुन्थ्यो नै यसबाट अरूलाई नोक्सानीबाट जोगाउन सकेको गर्व र पुण्यको अनुभूति पनि हुन्थ्यो। यसका लागि हामीले आफ्नो घरमा केही काम गरेका पनि छौं, तर त्यसलाई अभियान बनाउन सकिएको छैन।

अर्कातिर बाढी र डुबानमा पर्न सक्ने पाखामा थुप्रै गाउँहरू छन् जहाँ हप्तौंसम्म पनि मान्छे पानीको पीडामा पर्छन्। मलाई भुइँचालोको तुलनामा बाढीको प्रकोप क्रूर लाग्छ। भुइँचालोले जति क्षति गरे पनि बारीका सुक्खा दाउरा र पाल टाँग्ने ठाउँ त छाड्छ, बाढीले त केही पनि छाड्दैन। तर, भुइँचालोले ह्वात्तै बढाउने हाम्रो चेतना र संवेदना बाढीमा कता बग्छ कता !

शायद बाढीको बानी परिसकेको छ। यो जीवनको नियमित प्रक्रियाका रूपमा स्वीकारिएको सङ्कट हो। त्यसैले खोलाको पानी घट्नासाथ मान्छेको मन पहिलेजस्तै भइहाल्छ। वर्षेनि वर्षा हुन्छ, बाढी पहिरोको डर पनि हुन्छ तर वर्षाप्रतिको मोह र त्यसको प्रतीक्षा सधैं उस्तै हुन्छ।

भिजौं, भिजाऊँ। काम गरौं, पसिना बगाऊँ । उमेर र स्वास्थ्यले साथ दिने सबै कुरा गरौं। काम गर्दा होस् वा खाँदा, रमाउने र रमाइलो गर्ने याम हो, वर्षा। मानो रोपेर मुरी फलाउने मौसम यही हो। असार १५ र साउने संक्रान्तिजस्ता वर्षे चाडहरूको शुभकामना, लेखनाथका दुई हरफहरूबाटः

वर्षाको शुरूमा हर्ष अन्त्यमा पनि हर्ष छ

विशेष अरूमा भन्दा वर्षामा यो प्रकर्ष छ ।(ऋतु–विचार)

प्रतिकृया दिनुहोस