नेपाल–भारत सीमा क्षेत्रमा दुई देशको संयुक्त गस्ती
स्थानीय तहको निर्वाचनलाई मध्य नजर गर्दै नेपाल–भारत सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीहरुले संयुक्त गस्ती गरिरहेका छन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलले दुई देशको सीमा नाकाहरुमा आवतजावत बन्द गर्दै संयुक्त सुरक्षा गस्ती गरेका हुन् ।
१२ असार बिहान ७ बजेबाट नेपाल भारत सीमा बन्द गरिएको छ । दुवै देशका प्रशासन प्रमुखहरुको संयुक्त बैठकबाट निर्वाचनमा शान्ति सुरक्षा अपनाउन सीमा नाका बन्द गरिएको हो ।
भारतीय सीमावर्ती जिल्ला सिद्धार्थनगरसँग जोडिएको कृष्णनगर, मर्यादपुर, चाकरचौडा, हथिहवालगायतका सीमा नाकाहरु मतदान सम्पन्न नहुँदासम्म बन्द गरिएको र दुवै देशका सुरक्षाकर्मीबाट सीमा क्षेत्रमा संयुक्त गस्ती भइरहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिए ।
गोपाल भण्डारी, कपिलवस्तु