यु–२३ नेपालले युएई, उज्बेकिस्तान र लेवनानसँग खेल्दै
एएफसी यु–२३ च्याम्पियनसीपको छनोट चरणमा नेपालले एसियाका तीन बलिया देशसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले ३१ असारमा युएई, २ साउनमा उज्बेकिस्तान र ४ साउनमा लेवनानको सामना गर्न लागेको हो ।
समूह ‘डी’ को छनोट चरणका सबै म्याच युएईमा हुँदैछ । समूह विजेताले ९ जनवरी २०१८ देखि चीनमा शुरु हुने एएफसी यु–२३ च्याम्पियनसीपमा भाग लिन पाउनेछ । १० समूह उपविजेता मध्ये पाँचौस्थानसम्मका टीम पनि च्याम्पियनसीपका लागि छनोट हुनेछ ।
१ असारदेखि प्रशिक्षणमा रहेको यु–२३ टीम नेपालले २७ असारमा यु–२३ बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ । प्रशिक्षणमा रहेका ३५ मध्ये १० खेलाडी राष्ट्रिय टीमका सदस्य रहेको टीम म्यानेजर संजीव मिश्रले जानकारी दिए । राष्ट्रिय टीमबाट खेल्दै आएका आदित्य चौधरी भने चोटका कारण छनोट खेल्न नसक्ने भएका छन् ।
राजुकाजी शाक्य प्रमुख प्रशिक्षक रहेको टीम नेपालका अधिकाँश सदस्यले सन् २०१५ मा नेपाललाई यु–१९ साफ च्याम्पियन बनाएका थिए । तीन वटै प्रतिद्वन्द्वी बलिया भए पनि टीम नेपाल च्याम्पियनसीपका लागि छनोट हुनेमा आफू विस्वस्त रहेको मिश्र बताउँछन् । तस्वीरः एन्फा ।