रुकुममा कांग्रेस–माओवादी झडप, पाँच घाइते
रुकुमको सिस्ने गाउँपालिका–५ मा नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ ।
झडपका क्रममा कांग्रेसका दुई र माओवादी केन्द्रका तीन कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा कांग्रेस कार्यकर्ता टोपबहादुर शाही र रेशम बुढाथोकी तथा माओवादी केन्द्रका श्रीकुमार बुढाथोकी, गोरबहादुर थापा र केशव थापा रहेको इलाका प्रहरी कार्यालय सिस्नेले जनाएको छ ।
घाइतेमध्ये कांग्रेस कार्यकर्ता रेशम बुढाथोकीलाई उपचारका लागि नेपालगन्ज पठाइएको छ भने अरुको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।
दुई पार्टीका कार्यकर्ताको बाटोमा जम्काभेट हुँदा झडप भएको तर झडपको एकिन विवरण जानकारी नभएको इलाका प्रहरी कार्यालयले जनाएको छ । रासस