कला/साहित्यसोमवार, आषाढ १२, २०७४

‘जादूमय यथार्थ’ को देश

रविन गिरी

तीन वर्ष नेपालमा बिताएपछि सुसानाको निष्कर्ष छ– ‘म्याजिकल रियालिज्म्’ को पहिलो घर ल्याटिन अमेरिका हो भने दोस्रो नेपाल ।

सुसाना सानख्वान लोपेज ।

फ्रान्सको राजधानी पेरिसको सोरबोने विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरिसकेपछि सुसाना सानख्वान लोपेज ‘केही नयाँ गर्ने’ सोचमा थिइन् । यस्तैमा एक जना साथीले उनलाई नेपाल जान सुझाए । कारण थियो– म्याजिकल रियालिज्म् अर्थात् जादूमय यथार्थवाद ।

ल्याटिन अमेरिकी अध्ययनमा स्नातकोत्तर गरेकी लोपेजले दक्षिणएशियाली हिमाली देश नेपालमा पनि धामीझाँक्रीको संस्कार कायम छ भन्ने सुनेकी थिइन् । मेक्सिकोमा जन्मिएका उनका चित्रकार बुबा पनि रियालिज्मो म्याजिको (म्याजिकल रियालिज्म्) को सांस्कृतिक आन्दोलनमा सरिक थिए । जति बेला छिमेक कोलम्बियामा गाब्रियल गार्सिला मार्खेज कालजयी वन हन्ड्रेड इयर्स अफ सोलिट्युड लेखिरहेका थिए । बुबाको पशुको शरीरमा मान्छेजस्ता अचम्मका चित्रहरु हेर्दै हुर्केकी लोपेजलाई पनि अदृश्य शक्ति र कल्पनाशीलताको जोडमै जीवन चलेको त होइन भन्ने लागिरहन्थ्यो ।

तस्वीर सौजन्यः सुसाना सानख्वान

सन् २०१४ मा पहिलोपटक नेपाल आएकी उनले सबैभन्दा पहिलो धामीझाँक्रीबारे नै अध्ययन गर्न थालिन् । धादिङको बाह्रबिसेका धामी मोहन राईलाई भेटिन् । संयोगवश त्यहीबेला एक बेलायती चलचित्रकर्मी पनि धामीझाँक्रीकै विषयमा काम गर्दै रहेछन् । उनले लोपेजलाई सहायक बनाए । सँगै काम गर्दा उनले चलचित्र, फोटोग्राफी र भिडियोग्राफीका प्राविधिक पक्ष मात्र होइन, यी माध्यमबाट कसरी अभिव्यक्तिलाई सशक्त रुपमा उतार्न सकिन्छ भन्ने बुझिन् ।

पछिल्लो दुई वर्षदेखि स्वतन्त्र रुपमा काम गरिरहेकी लोपेजले जादूयी यथार्थताकै कलाको धारमा टेकेर फोटोग्राफी र भिडियोग्राफी बनाइरहेकी छिन् । ब्लिंक (आँखाको झिमझिम) उनको छोटो भिडियोको शीर्षक हो जसमा उनले ‘तपाईंलाई के ले खुशी बनाउँछ?’ भन्ने विषय रोजेकी छन् । त्यसैअन्तर्गतको ए ब्याले इन काठमाडौं चलचित्रमा उनले ब्याले नृत्य सिकाउने काठमाडौंकी विदेशी युवतीमा अदृश्य तान्त्रिक शक्तिको प्रभावलाई केलाएकी छिन् । सँगसँगै लोपेजले काठमाडौंका साल्सा नृत्यका गुरु, परम्परागत नेवारी संस्कारको विवाहमा अदृश्य शक्ति र आत्माप्रतिको विश्वासलाई उनेकी छिन् ।

“नयाँ मान्छेलाई स्वागत गर्ने, पुर्खालाई पुज्ने, आत्मालाई मान्ने यहाँको र ल्याटिन अमेरिकी संस्कारमा समानता छ” लोपेज भन्छिन्, “फरक चाहिं पुज्ने ठाउँ मात्र हो ।”

गाडीमा गइरहँदा मन्दिर देखे सानो स्वरमा मन्त्र भट्याउँदै ढोग्ने, ढुंगासामु पनि श्रद्धाले अनुहार झुकाउने नेपालीको बानी उनलाई अचम्म लागेको रहेछ । “कतिपयले नजानेर यी सबै गरिरहेका छन्, सबैभन्दा सुन्दर कुरा नै त्यही हो”, उनी भन्छिन् । कुमारीप्रतिको आस्था, जात्रा र पूजामा देखिने उल्लासमय भीड सबै कुरा उनका लागि नयाँ थियो ।

पेरिसमा त सबै मिलेका– घर, पार्क, सडक, गल्ली, बजार । काठमाडौंमा त भद्रगोल । तर लोपेजलाई यही भद्रगोल जीवन्त लाग्यो । “मिश्रणमा जीवन हुन्छ, त्यसैले पनि हुनसक्छ नेपाल मलाई घरजस्तो लाग्यो”, उनी भन्छिन् ।

तीनवर्षे नेपाल बसाइँपछि जाँदाजाँदै लोपेजले ११ असारमा आफ्ना कर्मलाई ललितपुरको मोक्ष रेस्टुरेन्टमा प्रस्तुत गर्दैछिन् । लाइफ इन कलर्स (रङहरुमा जीवन) शीर्षकको उनको प्रस्तुतिमा फोटो र फिल्म प्रदर्शनीसँगै ल्याटिन जिप्सी जाज् ब्याण्ड र साल्सा नृत्य पनि हुनेछ ।

“भूगोल अलग भए पनि जादूयी संस्कृतिले हामी नजिक हुनसक्छौं भन्ने मेरो आशय हो”, लोपेज भन्छिन् ।

प्रतिकृया दिनुहोस