ब्लगसोमवार, आषाढ १२, २०७४

भ्यू टावरः पहाडको टुप्पोमा होइन रौतहटमा

कनकमणि दीक्षित

सुनियो कि कसैको मनमा या योजनामा छ, पशुपतिनाथ मन्दिरको माथ्लो कान्लामा एउटा ठूलो कंक्रिटको शिवमूर्ति ढलान गर्ने । यो सिल्ली आइडिया हो, त्यागिदिऔं ।

जब जम्बुद्वीपकै सर्वश्रेष्ठ शिवशक्ति प्रांगण हाम्रो वागमती किनार छ, जब साक्षात् महादेव नै त्यहाँ विराजमान छन्, साक्षी नन्दी–भृङ्गी स्वयं उपस्थित छन् भने यो कलियुगमा कंक्रिटको शिवमूर्ति किन चाहियो ? सर्वत्र शिवमन्दिर छन्, कैलाशमा विराजमान उमा–महेश्वरका मूर्ति काठमाडौं उपत्यकामा जति अन्यत्र कतै छैनन् । अनि किन थप्नुपर्‍यो एउटा अर्को मूर्ति ? किन अवमूल्यन गर्ने भक्तजनका सामु पशुपतिनाथलाई प्रतिस्पर्धा हुनेगरी पशुपतिनाथ–२ ?

पशुपतिनाथ–२ बारे मैले पाएको सूचना असत्य सावित होस् ।

जताततै शिवलिंग स्थापित गर्ने होडका साथसाथै नेपालमा यत्रतत्र भ्यूटावर बन्दैछन् । र, नबनिरहेका ठाउँहरूमा योजना बुनिंदैछन् । पदभार ग्रहणलगत्तै नवनिर्वाचित मेयरहरू काम देखाइहाल्ने हेतुले भ्यूटावर बनाउने योजना बनाइरहेछन् । बुझ्न गाह्रो छैन– भ्यूटावर बनाउन सिमेन्ट कंक्रिट अलिकति खर्च गर्‍यो, डाँडाको टुप्पामा वरपर सबैले देख्ने गरी त्यसलाई ठड्यायो, वाह्वाही कमायो ।

तर नेपालको डाँडाकाँडामा भ्यूटावर बनाउने कुरा टिप्पणीयोग्य छ । भ्यूटावर निर्माण गर्नु भनेको छेउछाउका घर, रुख, ढिस्को भन्दा अलिकति माथि पुगेर दृश्यावलोकन गर्ने अवस्था बनाउनु हो । नेपालका डाँडाकाँडा स्वयं गगनचुम्बी भ्यूटावर हुन् भने, त्यसमाथि रुपैयाँ खर्चेर किन संरचना ठड्याउने ? बुझिनसक्नु नै हो, तर हाम्रो नेपालमा बुझिनसक्ने धेरै कुरा हुने गरेकोले भ्यूटावर अभियानलाई निस्तेज पार्न केही तर्कको आडभरोसा चाहिन्छ ।

मुस्ताङको जोमसोम र भक्तपुरको नगरकोटमा निर्माण गरिएका भ्यूटावर ।

यदि कसैलाई हिमाली श्रृंखला अवलोकनबारे थाहा छ भने धुलिखेलका नवनिर्वाचित मेयर अशोक व्यान्जुलाई छ । उनको शहरबाट कसैको भनाइमा, पोखरालाई माथ गर्ने हिमाली प्यानोरमा देखिन्छ । भ्यूटावरबारे व्यान्जुको सोच मैले ठीक पाएँ । उनी भन्छन्, “यो त एउटा टुप्पीमाथि अर्को टुप्पी थपे जस्तो भयो नि, त्यो किन चाहियो ?”

मानौं, मध्यपहाडको फेददेखि टुप्पासम्म २५०० फिटको कुनै डाँडाको टुप्पाबाट छर्लङ्ग हिमाल देखिन्छ– विदेशी र आन्तरिक पर्यटकलाई लोभ्याउने गरी । त्यसमाथि बनाइने टावरले हद भए ६० फिट उँचाइ थपिदेला । बुझ्नुपर्ने कुरा यो हो कि २५०० फिटको साटो २५६० उँचाइबाट पर्यटकले कति बढी हिमश्रृंखला देख्छन् ? यसको जवाफ तपाइँ पाउनुहुन्न ।

नेपालमा भ्यूटावरको आगमन भयो ६ दशकअघि त्रिभुवन राजपथ बनाउँदा भारतीय सेनाको निर्माण टोलीले सीमभन्ज्याङमुनिको पाखो दामन भन्ने ठाउँमा भ्यूटावर निर्माण गरेपछि । त्यसैको सिकोमा गत वर्षहरूमा बनिसकेका, बन्दै गरेका र भत्किसकेका, मक्किसकेका भ्यूटावरहरू हामी देख्न पाउँछौं मध्यपहाड यताउता ।

भ्यूटावर बनाउनुको भौगोलिक तर्क त छँदै छैन यसको आर्थिक पक्ष पनि कमजोर छ । भ्यूटावरमा आखिर कति जना अट्छन् ? फेरि भ्यूटावरको हिमाल नदेखिने बरण्डा त त्यत्तिकै खेर गयो ! यो त पर्यटकीय संख्या घटाउने उपाय जस्तो पो भयो ।

म्याग्दीको पुनहिल र धरानको भेडेटारमा निर्माण गरिएका भ्यूटावर ।

हामीलाई चाहिएको त ‘भ्यू–कौसी’ हो । पहाडी थुम्काहरूका होटल र रिसोर्टहरूले कुरा बुझेका छन् कि पहाड आफैं भ्यूटावर हो, त्यसैले टावर होइन टेरेस् अर्थात् कौसी चाहिन्छ । यसरी गहकिलो होचो डिलसहित फराकिलो कौसी बनायो, ढुंगाले वा तेलिया इँटाले छाप्यो, बस्न, खानपिनका लागि आरामदायी ‘स्पेस’ बनायो । जस्तै पोखरामाथिको सराङकोट, त्यहाँ ‘भ्यू–कौसी’ छ, न कि भ्यूटावर ।

‘भ्यू–कौसी’ ले आर्थिक आर्जन पनि बढी गर्दछ किनकि ठेलमठेल गरी थोरै मानिस टावरका अप्ठेरा घुमाउरा भर्‍याङ चढ्नु र उत्रनु भन्दा एकैसाथ सयौं यात्रुले आरामसित हिमाल हेर्न पाउँछन् । उता, भ्यूटावर बनाउनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु हो ।

यहाँ पेश तर्कले अवश्य पनि भ्यूटावर बनाइसकेका या बनाउन तल्लीन व्यवसायी वा पदाधिकारीको दिल खुस पार्दैन । मैले सामाजिक सञ्जालमा भ्यूटावरको विरोध गरी लेख्दा म्याग्दी, पुनहिलकी एक महिला रिसाएकी थिइन्, मानौं म पुनहिल विरोधी तत्व हुँ र कुनै प्रतिस्पर्धी (भ्यूटावर नभएको) पर्यटकीय गन्तव्यको दलाल !

तर कुरो प्रष्ट छ, यदि रौतहटबाट लाङटाङ हिमाल हेर्नु पर्‍यो भने (खुला आकाश हुँदा देखिन्छ) भ्यूटावर अथवा मचान बनाऔं, ता कि छेउछाउका वृक्ष वा संरचनाहरूले दृश्य नछेकोस् । तर पहाडको टुप्पामा भ्यूटावर चाहिं यो लेख पढिसकेपछि बनाउने कुरा बिर्सिदिऔं ।

प्रतिकृया दिनुहोस