प्रधानमन्त्रीले माघ भन्दा पहिले सरकार छोड्ने अवस्था आउँछ: नेता नेपाल
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले माघ भन्दा पहिले सरकार छोड्नुपर्ने अवस्था आउने बताएका छन् ।
स्थानीय निर्वाचनको प्रचारका लागि ७ नं. प्रदेश पुगेका नेता नेपालले ११ असारमा धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ७ माघ अघि नै सरकार परिवर्तन हुने बताएका हुन् । प्रधानमन्त्री देउवाले सत्ता लम्ब्याउन २ नं. प्रदेशको निर्वाचन असोजमा सारेको आरोप लगाउँदै जसरी पनि ७ माघ भित्र तीनै तहको निर्वाचन गरिसक्नु पर्ने बताए ।
"संविधानको प्रावधान विपरित गइँदैन, माघ ७ पछि व्यवस्थापिका संसदको म्याद थपिँदैन," नेपालले भने, "`शेरकहादुरजीले त्योभन्दा पहिले सरकार छोड्नुपर्छ, लक्षण त्यस्तै देखिदैछन ।" सोचेर नबोल्ने, भोलि के हुन्छ भन्ने जानकारी नराख्ने र पाएको जानकारीको पनि बेवास्ता गर्ने प्रधानमन्त्री देउवाको बानी भएको आरोप लगाउँदै नेपालले भने, "शेरबहादुरजीले लोकतन्त्रप्रति कहिल्यै गम्भीरता देखाएका छैनन् । विगत पनि त्यस्तै छ, यस पटक पनि चुनाव सारेर सरकार नाङ्गिसकेको छ ।"
उनले दोस्रो चरणको निर्वाचनमा पनि एमालेले ५६ स्थानीय तहमा जितेर पहिलो पार्टी हुने नेता नेपालको दाबी छ । तत्काल संविभान संशोधन असंभव रहेको भन्दै उनले स्थानीय तह निर्वाचनपछि संविधान संशोधन गर्ने सहमति भएको बताए । २ नं. प्रदेशको निर्वाचन सम्पन्न हुनुअघि संविधान संशोधन नहुने उनको भनाई छ ।