प्रधानाध्यापकमाथि गोली प्रहार
धनुषाको लक्ष्मीनिया गाउँपालिकाको विलट साह सर्वोदय मावि, सिनुरजोडाका एक प्रधानाध्यापक नरेन्द्रकुमार शर्मामाथि गोली प्रहार भएको छ ।
आज विहान विद्यालय जाँदै गरेका बेला ५० वर्षीय शर्मामाथि मोटरसाइकलमा आएका अपरिचित हतियारधारीले गोली प्रहार गरेका हुन् ।
गालामा गोली लागेका शर्माको अवस्था गम्भीर रहेको जनकपुर अञ्चल अस्पतालका चिकित्सकले बताएका छन् । उनलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।
जनकपुर उपमहानगरपालिका–७ निवासी प्रअ बिहान ६:३० बजे आफ्नो घरबाट विद्यालय जाँदै गरेका बेला लक्ष्मीनिया चोकदेखि पश्चिम बाटोमा मोटरसाइकलमा आएका दुई हतियारधारीले गोली प्रहार गरी भागेको प्रहरीले जनाएको छ ।
घटनाको विषयमा अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए ।