रिपोर्टआइतवार, भाद्र १९, २०७३

पाइलैपिच्छे दुर्व्यवहार

सविता श्रेष्ठ

लैंगिक हिंसा विरुद्धको चर्को स्वर र प्रष्ट कानूनी प्रावधान हुँदाहुँदै पनि महिला जताततै यौनजन्य दुर्व्यवहार खेप्न बाध्य छन् । 

“पुरुषै पुरुष च्याम्बरमा बस्ने, उनीहरूका बीचमा म एक्ली । उनीहरूका बीचमा यस्ता कुरा हुने कि त्यो कुराले नै मलाई पीडा हुन्थ्यो, त्यहाँनेर चाहिं मलाई एक–दुई जना अरू महिला न्यायाधीश भएको भए कस्तो हुन्थ्यो होला जस्तो लाग्थ्यो । यो खालको विभेद कहाँ चाहिं छैन होला? सबैतिर, हरेक कार्यालयमा छ ।”

मुलुकको न्यायिक इतिहासमै पहिलो महिला प्रधानन्यायाधीशमा नियुक्त भएको भोलिपल्ट २८ असारमा बीबीसी सँगको अन्तर्वार्तामा सुशीला कार्कीले आफ्ना पींडा यसरी पोखिन् । ६ वर्षसम्म सर्वोच्च अदालतमा न्यायाधीश बनेकी कार्कीको यो तितो अनुभवले मुलुकमा महिलामाथिको दुर्व्यवहारको स्वरुप छर्लङ्ग पार्छ ।

सांस्कृतिक समालोचक डा. अर्चना थापा कार्कीले भोग्नुपरेको यस्तो समस्यालाई महिलामाथिको दुव्र्यवहार (ह्यारासमेन्ट) को संज्ञा दिन्छिन् । “प्रधानन्यायाधीशले भने जस्तै महिलामाथि दुर्व्यवहार नभएका कुनै ठाउँ छैनन्, करीब ९९ प्रतिशत महिला कुनै न कुनै प्रकारले प्रत्यक्ष/अप्रत्यक्ष दुर्व्यवहारको शिकार भइरहेका छन्”, थापा भन्छिन् ।  

कसैलाई दुःख र हीन महसूस गराउने व्यवहारलाई दुव्र्यवहार भनिन्छ । महिलामा खासगरी रूप, रङ, लिङ्गलगायतका आधारमा यस्तो दुव्र्यवहार गरिंदै आएको देखिन्छ । यीमध्ये पनि यौनजन्य दुर्व्यवहारलाई त हिंसाकै रूप मानिन्छ । 

समाजमा यस्ताखाले दुर्व्यवहारलाई सामान्य ठान्ने चलन छ । कतिपय घटनामा सुन्नेले असहज महसूस गरिरहेको भन्नेलाई पनि थाहा हुँदैन । मनोविद् डा. गंगा पाठक दुर्व्यवहारको निरन्तरताले काम र सम्बन्ध जटिल बनाइरहेको बताउँछिन् । उनी भन्छिन्, “समय बित्दै जाँदा यसले गम्भीर खालका मनोरोग पनि निम्त्याउन सक्छ ।”

दुर्व्यवहारका नयाँ रूप
‘मनोरञ्जन गर्न मन लागेमा, फ्रि टाइम भएमा फोन गर्नुहोला’ भन्दै फोन नम्बरसहितको फेसबूक स्टेटस देखेपछि काठमाडौंकी ४० वर्षीया महिलालाई देश, विदेशबाट तारन्तार फोन आउन थाल्यो । तर, यो के भइरहेको छ भनी ती महिलाले बुझनै सकिरहेकी थिइनन् ।

केही दिनपछि आफन्तले फेसबूकमा के लेखेको भनेपछि उनी छाँगाबाट खसे झैं भइन् । फेसबूकमा उनको फोटो र फोन नम्बर लेखेर कसैले ‘फेक आइडी’ बनाइदिएको रहेछ । १३ भदौमा महानगरीय अपराध महाशाखाको साइबर सेलमा उजुरी दिएकी उनी आफूलाई बदनाम गर्न खोज्ने व्यक्तिको खोजीमा छिन् ।

चिनजानका पुरुष साथीले व्यक्तिगत तस्वीर सार्वजनिक गरिदिने भन्दै मेसेजबाट सताउन थालेपछि अमेरिकामा चिकित्सा विज्ञान पढिरहेकी युवतीले गत साउनमा महानगरीय प्रहरी अपराध महाशाखाको साइबर सेलमा इमेलमार्फत उजुरी गरिन् । प्रहरीको छानबीनमा काठमाडौंवासी ती युवा पत्ता लागे । गल्ती पनि स्वीकारे ।

मुगुमा रहँदा ‘लिभिङ टुगेदर’ सम्बन्धमा रहेकी तर अहिले अर्कैसँग विवाह गरेकी युवतीलाई अश्लील भिडियो पठाएर दुर्व्यवहार गर्ने युवा विरुद्ध पनि प्रहरीले मुद्दा चलाएको छ ।

“फेसबूकको प्रोफाइल ह्याक गरेर अश्लील फोटो राख्ने, नक्कली आईडी बनाएर युवतीलाई सताउने, गालीबेइज्जती गर्ने, थुप्रै विरुद्ध कारबाही अघि बढाएका छौं”, महाशाखाको साइबर सेल प्रमुख प्रहरी नायब उपरीक्षक पशुपति राय भन्छन् ।

उनका अनुसार, आर्थिक वर्ष २०७२/७३ मा महाशाखाको साइबर सेलमा परेका ८३० उजुरीमा मुद्दा चलाइएका २३ मध्ये १७ वटा महिलामाथिको दुर्व्यवहारकै रहेका छन् । राय भन्छन्, “दुव्र्यवहारका ९० प्रतिशत उजुरीमा महिला नै पीडित हुने गरेका छन् ।”

सूचनाप्रविधिको विकास र बढ्दो प्रयोगले महिलाले दुव्र्यवहारका नयाँ–नयाँ रूपको सामना गर्नु परिरहेको छ । हातहातमा मोबाइल र सामाजिक सञ्जालको व्यापकताले अनेक फाइदासँगै विकृति पनि बढाएको छ ।

सांस्कृतिक समालोचक डा. थापा पहिले छुने, सिट्ठी बजाउने, सुसेली र गीतबाट जिस्क्याउने, ठट्टा गर्ने, विभिन्न संकेत देखाउने जस्ता प्रत्यक्ष उपस्थित भएर गरिने दुर्व्यवहार अहिले फोन, इन्टरनेटलगायतका प्रविधिमा हस्तान्तरण भएको बताउँछिन् । “अस्वीकार गर्दा विभिन्न माध्यमबाट पछ्याइरहनु (स्टकिङ) पनि दुर्व्यवहार नै हो”, उनको भनाइ छ ।   

समाजशास्त्री नीति अर्याल खनाल ‘छोरीले पढ्नुहुँदैन, बाहिरी मान्छेसँग बोल्नुहुँदैन’ भन्ने परम्परागत सोचबाट समाज माथि उठ्न थाले पनि दुर्व्यवहार, विभेद र हिंसाका घटनामा उल्लेख्य कमी नआएको बताउँछिन् । “समाजको विकास अनुसार दुर्व्यवहारका प्रवृत्ति पनि परिवर्तन भइरहेका छन्”, खनालको धारणा छ ।

स्वयं प्रधानन्यायाधीशकै भोगाइबाट प्रष्ट हुन्छ– समाज शिक्षित हुँदै गए पनि महिलामाथिको व्यवहारमा पुरानै पुरुषप्रधान मानसिकता नै हावी छ । नेपाल मेडिकल काउन्सिलकी प्रशासकीय अधिकृत अनिता लामालाई पनि यसको अनुभव छ । पुरुष सहकर्मीको पोशाकदेखि बस्ने तरीका, चुरोट, खैनीलगायतका कतिपय कुराले महिलालाई समस्यामा पारेको उनी बताउँछिन् । उनको भनाइमा पुरुषको यस्तो दुर्व्यवहार पनि महिलामाथिको अदृश्य हिंसा नै हो ।

भक्तपुरकी सविता कटु फिल्म हेरिरहँदा हलमा चिच्याउने, सिट्ठी बजाउने, अपशब्द बोल्ने पुरुषको बानीले महिलालाई असहज बनाउने बताउँछिन् । जेण्डर स्टडिजमा स्नातकोत्तर अध्ययन गरिरहेकी सुजाता ढुङ्गानाले त रत्नपार्कको ओभरहेड पुलमा भएको अधबैंसे पुरुषको दुर्व्यवहार विरुद्ध ‘हेलो सरकार’ मा उजुरी नै गरिन्, तर केही भएन ।

स्कूटर चलाउने बालाजुकी प्रेरणा थापा नजिकै आएर हर्न बजाउने, ठोक्काउला जस्तो गरी ओभर टेक गर्ने र अगाडि पुगेपछि पनि फर्की–फर्की हेर्ने पुरुषबाट दिनहुँ ‘ह्यारासमेन्ट’ अनुभव गर्नुपरेको बताउँछिन् ।

साहित्यकार सरिता तिवारी त साहित्यमा समेत महिलामाथि दुर्व्यवहार भइरहेको दाबी गर्छिन् । महिलालाई शरीरभन्दा क्षमताले मूल्याङ्कन गरिने संस्कार नबनेसम्म यस्ता दुर्व्यवहार नरोकिने बताउँदै उनी भन्छिन्, “कतिपय पुरुष साहित्यकारले लेखेका शब्दहरू त उच्चारणसमेत गर्न सकिंदैन, यस्ता लेखकमा महिलालाई भोग्य ठान्ने मानसिकताले प्रश्रय पाइरहेको छ ।”

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले सन् २००४ मा सार्वजनिक गरेको ‘सेक्सुअल ह्यारासमेन्ट एट दि वर्कप्लेस् इन् नेपाल’ अध्ययन प्रतिवेदनमा ५३.८४ प्रतिशत महिलाले कार्यस्थलमा यौनजन्य दुव्र्यवहार भोग्नु परेको बताएका थिए । छोएर, बोलेर, संकेत गरेर, लेखेर तथा भावनात्मक व्यवहारबाट यस्तो दुर्व्यवहार गरिएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसो त यौनजन्य दुर्व्यवहार (निवारण) ऐन २०७१ ले हरेक कार्यालय तथा कार्यस्थलमा यौनजन्य दुव्र्यवहार बारे उजुरी दिने, कारबाही र पीडितको आवश्यकता अनुसार मनोवैज्ञानिक परामर्शको व्यवस्था गरिनुपर्ने प्रावधान राखेको छ । तर, अधिकांश कार्यालयले यसो गर्न आवश्यक ठानेका छैनन् ।

युएन वुमन नेपालकी रणनीतिक साझेदार विशेषज्ञ सरु जोशी कार्यालयका हरेक कर्मचारीले यौनजन्य दुव्र्यवहार बारे तालीम लिनु अनिवार्य भएको बताउँछिन् । “यसले दुर्व्यवहार कसरी हुन्छ मात्र होइन, भएमा के गर्ने भन्ने जानकारी समेत दिन्छ”, उनी भन्छिन् । 

असामान्य असर
सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल पुरुषसँग काम गर्ने महिलाले अनेक असहजता व्यहोर्नुपर्ने बताउँछिन् । चलन, पुरुष संस्कार र अहिलेको ‘सेन्सिबिलिटी’ अनुसार दुर्व्यवहार तथा हिंसाको मात्रा भने फरक हुने बताउँदै उनी जानेर र नजानेर गर्ने दुर्व्यवहारलाई असर र परिणामका दृष्टिले हेर्नुपर्नेमा जोड दिन्छिन् । “तर, दुर्व्यवहार यति गम्भीर छन् कि यसले महिलालाई पेशा परिवर्तन गर्न बाध्य तुल्याउन सक्छ”, मल्ल भन्छिन् ।

मनोविद् डा. गंगा पाठकको विश्लेषणमा विभेद र क्षणिक मनोरञ्जनका लागि गरिने यसखाले दुव्र्यवहारले महिलालाई नियमित काम गर्न समेत गाह्रो पर्छ ।

“यस्तो अवस्थामा धेरैले विकल्प खोज्छन्, त्यो नपाए काम छाड्छन्”, उनी भन्छिन् । दुर्व्यवहार लुकाउने कोशिश गर्दा थप पीडा हुनसक्ने भएकाले यस विरुद्ध तत्काल आवाज उठाउनुपर्ने पाठकको सुझाव छ । “यसो गर्दा आफूलाई हलुका हुने मात्र होइन, पीडकले पनि सच्चिने अवसर पाउँछ”, उनी भन्छिन् ।

महिला विरुद्ध हुने भेदभाव अन्त्य सम्बन्धी संयुक्त राष्ट्रसंघीय समितिकी सदस्य वन्दना राणा विकसित देशहरूमा यस्ता दुर्व्यवहारबारे खुला छलफल र प्रतिकार हुने भए पनि नेपालजस्ता विकासोन्मुख देशमा पीडितको आवाज दबिएको बताउँछिन् ।

“तर, यो सामान्य विषय हुँदै होइन”, राणा भन्छिन्, “महिलालाई दुर्व्यवहारको प्रतिकारमा सक्षम बनाउन सबैले सहयोग गर्नुपर्छ ।” न्यायाधीश मल्ल लैङ्गिक तटस्थ भाषाको प्रयोग र लैङ्गिक संवेदनशीलता प्रदर्शनमा पुरुष जिम्मेवार नभई नहुने बताउँछिन् ।

यस्तो दुर्व्यवहार पुरुषले महिलालाई मात्र गर्छन् भन्ने चाहिं होइन । महिलाले महिलालाई, महिलाले पुरुषलाई वा पुरुषबाट पुरुषलाई पनि हुनसक्छ ।

कानूनमै सीमित 
२४ साउन, बेलुकी ७ बजे । काठमाडौं मल अगाडिबाट घर काँडाघारी, भक्तपुर जान बस चढ्दै गरेकी लक्ष्मी लामा (३४) लाई ठेल्दै एक हूल युवा बसभित्र पसे ।

एकजनाको कुमले लक्ष्मीको छातीमै छोयो । उनले तुरुन्तै ती युवालाई हकारिन् । त्यही बेला उनलाई पछाडिबाट आफ्नो ब्याग ताने जस्तो लाग्यो । लक्ष्मीले ब्याग हेरिन्, मोबाइल त्यहाँ थिएन । तत्काल बस रोक्न लगाइन् । र, आफूलाई दुर्व्यवहार गर्ने ती युवाहरूलाई समातेर महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर पुगिन् । प्रहरीले अनुसन्धान अगाडि बढाउँछौं भनेपछि उनी घर गइन् ।

“भोलिपल्ट प्रहरी कार्यालय पुग्दा प्रहरीले ती युवा छाडिसकेको थियो”, लक्ष्मी भन्छिन्, “शुरूमा त लेखाइ नमिलेको भन्दै जाहेरी लिनै मानेन ।” पछिल्लो जाहेरीलाई वृत्तले विशालबजारस्थित महानगरीय प्रहरी वृत्त जनसेवामा पठाइदियो । त्यसपछि उनी महिला आयोग पुगिन् । अहिले उनी न्यायका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रहरी कार्यालय धाइरहेकी छन् । “मोबाइल चोरिएको मात्र होइन, दुर्व्यवहार  पनि भएको छ नि !” उनी भन्छिन् ।

लैंगिक हिंसा र यौनजन्य दुर्व्यवहार रोकथाममा नेपालको कानून दक्षिणएशियामै बलियो मानिन्छ । सरकारले २२ फागुन २०६८ मै ‘लैङ्गिक विभेदमा आधारित हिंसा विरुद्ध कार्य सञ्चालन कार्यविधि’ लागू गरिसकेको छ । कार्यविधि अनुसार, महिलामाथिका जुनसुकै विभेद विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको मानवअधिकार तथा लैङ्गिक सशक्तीकरण शाखामा सोझै उजुरी दिन सकिन्छ ।

उजुरीका लागि सरकारले खास स्थान तोके पनि त्यहाँसम्म पुग्न सजिलो छैन । शाखा सञ्चालन गरिएको पछिल्लो पाँच वर्षमा १८८ उजुरी मात्र पर्नुले यसको पुष्टि गर्छ ।

शाखाकी अधिकृत रेजिना कोइराला स्थापनादेखि आव २०७२/७३ सम्म घरेलु हिंसा तथा शान्ति सुरक्षामा सबैभन्दा बढी १७२ उजुरी परेको बताउँछिन् । त्यसबाहेक सामूहिक बलात्कारका सात, कार्यस्थलमा भएको यौन हिंसाका तीन, अपहरणका तीन, बोक्सी आरोपका दुई र स्कूलमा भएको यौन हिंसाको एउटा उजुरी परेको छ । उजुरीहरूलाई गृहमन्त्रालयमार्फत कार्यान्वयनका लागि पठाइने कोइरालाको भनाइ छ ।

सरकारले कार्यस्थलमा महिलामाथि हुने दुव्र्यवहार विरुद्ध ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) ऐन २०७१’ लागू गरिसकेको छ । ऐन अन्तर्गत उजुरी सुन्ने र निर्णय गर्ने जिम्मेवारी प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ । तर, गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइराला ऐनमा टेकेर अहिलेसम्म एउटै पनि उजुरी नपरेको बताउँछन् । “जिल्लाबाट पनि उजुरी आएको सुनिएको छैन”, उनी भन्छन् ।

सार्वजनिक स्थलमा हुने दुर्व्यवहारलाई केही सार्वजनिक (अपराध र सजाय) ऐन अन्तर्गत पनि कारबाही गर्ने व्यवस्था छ । यस्ता दुव्र्यवहार रोक्न विद्युतीय कारोबार ऐनलाई पनि प्रयोग गर्न सकिन्छ । यौनजन्य आशयले गरिएको दुव्र्यवहारलाई जबर्जस्ती करणी उद्योग अन्तर्गत कारबाही गर्न कानून पनि छ ।

लैंगिक हिंसा नियन्त्रणका लागि सरकारले साउन २०६९ मा पञ्चवर्षीय ‘लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना’ सार्वजनिक गरेको थियो । कार्ययोजना सकिन एक वर्ष मात्र बाँकी छ, तर आधाभन्दा बढी काम सकिएकै छैन ।

जुनसुकै किसिमका दुव्र्यवहार विरुद्ध कारबाहीको कानूनी ग्यारेन्टी भए पनि उजुरी दर भने न्यून छ । संयुक्त राष्ट्रसंघीय समितिकी सदस्य वन्दना राणा ऐन–नियमबारे जानकारी नै नभएका कारण पनि उजुरी नपरेको बताउँछिन् । “थाहा पाउनेहरू पनि आफ्नै बेइज्जती र झ्न्झ्टिलो प्रक्रियाका कारण चूपचाप बस्ने गरेका छन्”, उनी भन्छिन्, “यसले कानूनसँगै दुव्र्यवहार प्रतिकार गर्न सक्ने महिला विकासमा जोड दिनुपर्छ भन्ने सिकाएको छ ।”

महिला कानून र विकास मञ्च (एफडब्लुएलडी) की अध्यक्ष अधिवक्ता मीरा ढुङ्गाना कानूनले खोज्ने प्रमाण र असजिलो प्रक्रियाले जान्ने–बुझ्ने महिला पनि उजुरी गर्न नगएको बताउँछिन् । (हे. बक्स तल) “ह्यारासमेन्टमा एक पटक परिन्छ” उनी भन्छिन्, “तर, उजुरी गरे बारम्बार ह्यारास भइन्छ भन्ने सोच छ ।” परम्परादेखि महिला ‘जिस्क्याउने वस्तु’ बनेका कारण पनि अधिकांश महिलाले दुव्र्यवहार चूपचाप सहने गरेको उनको धारणा छ ।

समाजशास्त्री नीति अर्याल खनाल महिलालाई दुव्र्यवहार विरुद्ध उजुरी दिन सशक्त बनाउनुपर्ने बताउँछिन् । “यसका लागि कानूनको कार्यान्वयन, सचेतना विस्तार र दुर्व्यवहारबारे आधारभूत शिक्षा दिनुपर्छ”, उनी भन्छिन् ।

मानवशास्त्री सुरेश ढकाल नेपाली समाजको विकासक्रमदेखि चलिआएको प्रचलन र अहिलेको संरचनाकै कारण दुव्र्यवहार तथा हिंसा जन्माइरहेको बताउँछन् । आफूलाई शक्तिशाली र वर्चश्वशाली बनाउन खोज्दा निस्कने परिणाम नै दुव्र्यवहार भएको ढकालको विश्लेषण छ । “लोग्नेमान्छे पो हुँ त ! भन्ने चिन्तनबाट ग्रस्त पुरुषबाटै महिलामाथि दुर्व्यवहाररको जन्म हुन्छ”, उनी भन्छन् । छोराछोरीप्रति गरिने भेदभावपूर्ण व्यवहारले पनि दुर्व्यवहार प्रोत्साहित गरिरहेको उनको ठहर छ । 

‘सम्झँदै कहाली लाग्छ’
२०६७ सालमा हृदयघातबाट श्रीमान्‌को मृत्यु भएपछि मलाई जीवन सकियो जस्तो लागेको थियो । त्यतिबेला म २६ वर्षकी थिएँ । छोरी भर्खर दुई वर्षकी थिई ।

केही महीनापछि ललितपुर घरबाट माइती काठमाडौं आएँ । बुबाआमा, माइती र साथीहरूको सहानुभूति र मायाले पीडा भुलाउन बल दियो । दुई वर्षपछि मैले पुनः एमबीए पढ्न थालें । पढाइ सिध्याउनेवित्तिकै सँगै पढ्ने साथीको दाइको आइटी कम्पनीमा फाइनान्स हेर्ने काम पाएँ । आत्मनिर्भर हुन्छु भन्ने आँट पलायो ।

आफ्नै साथीका दाइ सिईओ भएकाले मलाई सहज पनि थियो । उनी मलाई बेलाबेला कामका अप्ठेरा सोध्थे । उमेरमा मभन्दा दुई वर्ष जति मात्र जेठा थिए । काम गर्न रमाइलो लागिरहेको थियो ।

९ महीना जतिपछि वातावरण बदलिन थाल्यो । फाइनान्सबारे बुझ्न भन्दै सिइओले मलाई बारम्बार आफ्नो च्याम्बरमा बोलाउन थाले । मलाई आदर गर्ने भन्दै सहानुभूति देखाउन थाले । विस्तारै उनी मेरो कपडा, शृंगार, शरीरको प्रशंसा गर्न थाले । उनी यति नजिक आउँथे कि म आत्तिन्थें । कतिपटक त मलाई छुन खोज्ने उनका हात मैले फालिदिएकी छु । सँगै काम गर्नेहरूलाई म केही भन्न सक्तिनथें ।

यस्तो व्यवहार झण्डै महीना दिनसम्म चल्यो । त्यसपछि मैले मेरी साथी, उसकी बहिनीलाई सबै कुरा भनें । दुईदिनपछि बहिनीले उल्टै फोन गरी ‘दया लागेर काममा लगाएको अहिले मेरै दाइ फसाउन खोज्ने ?’ भन्दै नानाथरी गाली गर्न थालिन् । मलाई सारै दिक्क लागेर आयो । आफैंलाई दोष दिंदै रातभरि रोएँ ।

भोलिपल्ट ‘राजीनामा दिन्छु’ भनेर अफिस गएँ । मैले राजीनामाको कुरा गर्नुअघि नै उनले आफूले ‘गल्ती गरेको भए माफी दिन’ अनुरोध गरे । श्रीमती ‘प्रिगनेन्ट’ भएकोले आफू अलि अनियन्त्रित भएकोसम्म भन्न भ्याए । मैले उनले यस्तो व्यवहार गरिरहे काम छाड्ने बताएँ । लाग्यो, अब उनले कुरा बुझ्छन् । तर, अहँ; राति ‘बरु रिफ्रेस हुन केही दिन सँगै काठमाडौंबाहिर बिताऔं’ भन्ने एसएमएस पो आयो । अनि त मलाई कामज्वरो आएजस्तो भयो । अहिल्यै गएर मारिदिऊँ जस्तो लाग्यो ।

मैले सिईओबारे प्रहरीकहाँ उजुरी दिनेबारे विचार गरेको बताएँ । तर, आमाले ‘त्यसो गरेर बदनाम नहुन बरु काम छाड्न’ भन्नुभयो । सिईओकी गर्भवती श्रीमतीको पनि माया लागेर आयो ।

त्यसदिनदेखि म काममा गइनँ । अफिसबाट काम छाडेको खबर पाएको तेस्रो दिन सिईओले फोन गरे । यसरी एक्कासी काम छाड्न नमिल्ने र छाडिहाले अर्को संस्थाका लागि सिफारिश राम्रो नगरिदिने धम्कीसमेत दिए । मैले अब फेरि दुर्व्यवहार गरे प्रहरीलाई उजुरी दिने बताएँ । त्यस दिनदेखि उनको फोन र एसएमएस आएको छैन ।

काठमाडौंमा घर भएकी, पढेलेखेकी म, त्यतिबेलाको हालत सम्झेर अहिले पनि कहालिन्छु । बाँच्नकै लागि काम गर्नै पर्ने बाध्यता नभएकोले म त बँचे । तर, गरीब, अशिक्षित महिलाहरू कसरी यस्तो ह्यारासमेन्ट सहेर बसिरहेका होलान्, कति आशु पिइरहेका होलान् । अनि तिनै महिलालाई वस्तु ठान्नेहरू चाहिं सभ्य, सुसंस्कृत बनेर हाँसिरहेका छन् । धिक्कार छ हाम्रो समाज !    

(यौन दुर्व्यवहार भोगेकी काठमाडौंकी ३१ वर्षीया सहारा बस्नेत (नाम परिवर्तन) सँग गरिएको कुराकानीमा आधारित)
------------------------------------------------------------------------------------------------

महिला विकासमै बाधक
डा अर्चना थापा, सांसकृतिक समालोचक

महिलामाथिको दुर्व्यवहार (ह्यारासमेन्ट) लाई कसरी परिभाषित गर्ने ?
यसको परिभाषा बृहत् छ । प्रत्यक्ष/अप्रत्यक्ष विभिन्न तरीकाले व्यक्तिले नचाहेको कुरा गरिनु नै दुव्र्यवहार अर्थात् ह्यारासमेन्ट हो । जोसँग शक्ति हुन्छ, उसैले दुर्व्यवहार गर्छ । शक्ति नहुनेहरू पीडित हुन्छन् । तर, कतिपय अवस्थामा पीडकलाई नै यसबारे थाहा नहुन पनि सक्छ । कुन कुरा कहाँ पुगेपछि दुर्व्यवहार हुन्छ, यो महसूस गर्नेमा भर पर्दछ । काममा प्रोत्साहन नगर्नु, नचाहेको बेलामा च्याट गर्न आउनु, फोन गर्नु पनि एकप्रकारको दुर्व्यवहार नै हो ।

यस्ता दुर्व्यवहारले महिलामा कस्तो प्रभाव पर्छ ?
सामाजिक संरचना, शक्ति तथा पहुँचका आधारमा गरिने यस्ता दुर्व्यवहारबाट बहुसंख्यक नेपाली महिला पीडित छन् । तर, कतिपयलाई भने आफू दुर्व्यवहारमा परिरहेको बारे नै थाहा छैन । यस्ता दुर्व्यवहारले महिलाको ‘मोबिलिटी’ मा बाधा पारिरहेको छ । क्षमता देखाउन र स्वावलम्बी बन्न रोकेको छ ।

दुर्व्यवहारमा हाम्रो सामाजिक/सांस्कृतिक भूमिका के कस्तो छ ?
कतिपय समुदायका सांस्कृतिक चलन, प्रचलनका कारण पनि ह्यारासमेन्ट भइरहेको छ । कतिले यसलाई हँसिमजाक, संस्कार भनेर सामान्य रुपमा लिने गरेका छन् । गीत–संगीत, साहित्य लेखाइले पनि यसलाई बढावा दिइरहेको छ ।

प्रत्यक्ष/अप्रत्यक्ष रुपमा हुने ह्यारासमेन्टलाई कसरी सम्बोधन गर्न सकिन्छ ?
चूप लागेर बस्नुहुन्न । प्रतिकार गर्नुपर्छ । बच्चादेखि नै केटा र केटी दुवैलाई यस्ता दुर्व्यवहारबारे शिक्षा दिनुपर्छ । सजिलै उजुरी गर्न सक्ने व्यवस्था गरिनुपर्छ । ऐन, नीति बनाएर दण्डित गर्नुपर्छ । 

प्रतिकृया दिनुहोस