फोरम नेपालबाट मेयरका उम्मेदवार चढेको गाडीमा तोडफोड
संघीय समाजवादी फोरम नेपालका तर्फबाट नेपालगञ्ज उपमहानगरपालिकामा मेयरका उम्मेदवार माथि अपरिचित व्यक्तिहरुले आक्रमणको प्रयास गरेका छन् ।
मेयरका उम्मेदवार कमरुद्दीन राईनमाथि गए राति करिब १० बजे नेपालगञ्ज बजारमा आक्रमणको प्रयास भएको हो । मुखमा मास्क लगाएर आएका व्यक्तिको समूहले राइन चढेको गाडीमा इँटा ढुंगाले हानेर तोडफोड समेत गरेका छन् ।
उम्मेदवार राईनलाई भने कुनै चोटपटक लागेको छैन । फोरम नेपालले घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरेर कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेको छ ।
चुनावी प्रचार–प्रसार सकेर जमुनाहास्थित घरतर्फ जाँदै गर्दा भएको आक्रमणका बेला गाडीमा चालक र राईन मात्रै थिए ।
आक्रमण र दुव्र्यवहारविरुद्ध संघीय समाजवादी फोरमका नेता–कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले घटनामा संलग्नको खोजी भइरहेको बताएका छन् ।