ब्लगशनिवार, आषाढ १०, २०७४

गर्भकालमा नेगेटिभ रक्तसमूहको खतरा

डा. सुमनराज ताम्राकार

गर्भवती महिलाको रक्तसमूह नेगेटिभ हुनु आफैंमा जोखिमको अवस्था हो ।

दुई छोरीको जन्मपछि तेस्रो गर्भ २६ हप्ता पुग्दा समस्या भएर एक महिला जँचाउन अस्पताल आइन्। महीना पुग्नुभन्दा निकै अगाडि सुत्केरी व्यथा लागेको कारण उनको शिशुलाई बचाउन सक्ने अवस्था थिएन। जाँच–पड्तालको क्रममा उनको रगत समूह नेगेटिभ र उनका श्रीमान्को पोजेटिभ रहेको थाहा भयो। त्यसअघिका दुवै 'डेलिभरी' घरमा भएकाले उनीहरूलाई आफ्नो रक्त समूह थाहा थिएन। एउटा छोरो पाउने चाहना बोकेका ती दम्पती त्यति बेला सारै दुःखी भए, जब अधिग्रो गएको शिशु केटो भएको थाहा पाए । 

गर्भावस्थामा किशोरी वा महिलाको प्रजननसँग सम्बन्धित ग्रन्थीहरूको रासायनिक परिवर्तनसँगै शारीरिक परिवर्तन पनि हुने हुनाले थुप्रै साधारण समस्या देखा पर्छन्। वाक्वाकी लाग्ने, मुखमा अमिलो पानी आउने, योनीस्राव (सेतो पानी) बढ्ता बग्ने, पिंडौला एवं जननेन्द्रिय वरिपरिका नसाहरू फुल्ने, कब्जियत हुने, खुट्टा सुन्निने, कम्मर दुख्ने, पिंडौला बाउँडिने यस्ता केही उदाहरण हुन्। धेरै ज्वरो आउनु, गन्धयुक्त योनीस्राव बग्नु, रगत पनि देखिनु, तल्लो पेट दुख्नु आदिलाई भने गर्भावस्थाको असामान्य समस्या मानिन्छ। त्यस्तो अवस्थामा विल्कुलै हेलचेक्र्याईं गर्नुहँदैन। त्यसैगरी गर्भकालमा संक्रामक रोग वा यौन रोगहरू देखिनु, तल्लो पेट दुख्नु, हात गोडा सुन्निनु, आँखा धमिलो हुनु, अधिक थकाइ र टाउको दुखाइ पनि गर्भावस्थाका असामान्य लक्षण हुन् ।

कोही युवती वा महिला प्रजनन कालमा मधुमेह, उच्च रक्तचाप जस्ता नसर्ने र सरुवा रोगबाट मुक्त हुँदैनन्। कतिपय गर्भवती महिलामा पहिल्यैदेखि वा गर्भवती भएपश्चात (गर्भाधानको कारणले) स्वास्थ्य समस्या देखा पर्न सक्छन्। गर्भकालमा उच्च रक्तचाप, मधुमेह, मुटुको समस्या, मिर्गौलाको खराबी, मूत्रनली संक्रमण, थाइरोइड ग्रन्थीको काममा घटीबढी, छारेरोग, रक्तअल्पता, हेपाटाइटिस, यौन रोग, एचआईभी/एड्स, क्षयरोग, दम, संक्रामक तथा परजीवीजन्य रोग, औलो, शल्यक्रिया चाहिने, पेटको दुखाइलगायतका स्वास्थ्य समस्या आइपर्न सक्छन् ।

निकै बढी वा कम उमेरका, धेरै बच्चा जन्माइसकेका, खुट्टा अपाङ्ग भएका, बच्चा उल्टो बसेका, जुम्ल्याहा बच्चा बोकेका तथा पटक–पटक गर्भ खेर गएका, गर्भावस्था लम्बिने समस्या भएका महिलाले गर्भकालमा बढी सतर्कता अपनाउनुपर्छ। पेटभित्र बच्चा मर्ने, सुत्केरी बेथापूर्व पानी फुट्ने (सानो सूतक हुने), महीना नपुग्दै बेथा लाग्नेलगायत गर्भावस्थाका विशेष समस्यालाई सम्बन्धित विशेषज्ञको सल्लाहमा व्यवस्थापन गर्नुपर्छ ।

नेगेटिभ रक्तसमूहकी महिला र पोजेटिभ रक्तसमूहका पुरुषबाट जन्मिने शिशुको रक्तसमूह पोजेटिभ हुने सम्भावना बढी हुन्छ। पेट (पाठेघर) भित्रको शिशुको पोजेटिभ प्रकारको रगत कुनै तरिकाले आमाको रक्तसंचार प्रणालीमा जान सक्छ। त्यो अवस्थामा आमाको शरीरले पोजेटिभ रक्तसमूह विरुद्ध प्रतिरोधात्मक क्षमता बनाउँछ। त्यसबाट गम्भीर प्रतिक्रिया भई गर्भे शिशुको मृत्यु हुनसक्छ। पहिलो गर्भ तुहिंदा, गर्भपतन गराउँदा वा सुत्केरी व्यथाको क्रममा गर्भेशिशुको रगत आमाको शरीरमा जाने हुनाले पछिका गर्भहरूलाई असर गर्छ ।

आमा र पेटभित्रको शिशुको रगतबीच प्रतिक्रिया हुँदा बच्चालाई रक्तअल्पता हुने, बच्चाका अंग वा पूरै शरीर सुन्निने, पहेंलोपना आउने र मुटुले काम गर्न छोडेर ज्यानै जाने हुनसक्छ। आमा र गर्भेशिशुको रगतबीचको गलत प्रतिक्रियाको असरलाई विचार गरेर शिशुको रगत फेर्नुपर्ने पनि हुनसक्छ। त्यसकारण, नेगेटिभ रक्तसमूह भएका गर्भवतीको पटक–पटक रगत जाँच र अल्ट्रासाउण्ड गराउनुपर्ने हुन्छ। पछिका गर्भलाई असर नगरोस् भनेर महँगो एन्टी डी सुई दिनुपर्ने हुन्छ ।

नेगेटिभ रक्तसमूहका महिलाको गर्भावस्थामा पाठेघरको पानी जाँच गर्दा, सिजेरियनका बेला, सालनाल निकाल्दा, सुत्केरीपश्चात पाठेघर खुम्चिने औषधि दिंदा धेरै सतर्कता अपनाउनुपर्छ। कुनै कारणवश गर्भ तुहिंदा, गर्भपतन गराउँदा, कडा प्रकारले पेट जाँच गर्दा र गर्भावस्थामा पाठेघरको पानी जाँच गर्नुपर्दा सुरक्षाको दृष्टिले एन्टी डी सुई दिनु बुद्धिमानी हुन्छ ।

प्रतिकृया दिनुहोस