पहिले पानी अनि भोट
पाल्पा रामपुर नगरपालिका– ४ मौलाथरका मतदातालाई चुनावभन्दा पनि पानी खोजेर जीविकोपार्जन गर्ने चटारो छ ।
दिनहुँ विभिन्न दलका नेता, कार्यकता र उम्मेदवारले भोट माग्न आउने गर्छन् । विकास निर्माणलगायत विभिन्न समस्या समाधान गर्ने आश्वासन दिँदै उनीहरुले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्ने गर्छन् । तर यहाँका मतदाताले गाउँमा खानेपानीको व्यवस्था गर्ने नेतालाई मतदान गर्ने सोचाईमा पुगेका छन् ।
मतदाताले विगतका वर्षको निर्वाचनलाई सम्झिदै भन्छन् “हामीलाई झुट्टा आश्वासन चाहिएको छैन, गाउँलाई विशाल सहर बनाउन पनि जरुरी छैन, हामी जनतालाई प्रलोभन नदेखाऊ, तर गाउँमा पानीको व्यवस्था गरिदेऊ ।”
स्थानीयवासीको एउटै आवाज र माग छ – पहिले पानी अनि मात्र भोट ।
मौलाथरकै ६७ वर्षीय इन्द्रबहादुर थापा अबको नेतृत्वले गाउँको विकास गर्नेमा त्यति विश्वास गर्दैनन् । उनले पनि धेरै निर्वाचनमा खानेपानीको समस्या समाधान हुन्छ भन्ने आशाले भोट दिए । “नेतासँग खानेपानी देऊभन्दा बुढेसकाल लाग्यो, पानी दिनु त कहाँ हो कहाँ बाटोमा भेटेर बोलाउँदा नि चुनावपछि चिन्नै छाडे” उनले विगतको इतिहासलाई सम्झिदै भने– “समयले कोल्टे फे¥यो, उमेर ढल्क्यो तर गाउँको सानातिना समस्या पार लाग्न सकेन ।”
मौलाथरका स्थानीयवासीले दैनिक दुई घण्टा समय लगाएर खानेपानीको जोहो गर्दै आएका छन् । ३३ घरपरिवार बसोवास रहेको मौलाथरवासीले बाबुबाजेको पालादेखि नै हिउँदमा होस् या वर्षायाम बाह्रै महिना दिनमा दुई घन्टाको समय लगाएर डोकोमा पानी बोकेर गुजारा चलाउँदै आएका छन् ।
मौलाथरमा मात्र होइन साविक दर्छा गाविसको गैलुकलगायतका क्षेत्रका पनि खानेपानीको समस्या उस्तै छ । दुई हात जोडेर आफ्नो दलको निर्वाचन चिन्ह देखाउँदै भोट मागेका उम्मेदवारलाई ८३ वर्षीय भिमकुमारी मल्ल भन्छिन्,“पानी ल्याइदिए हुन्छ, भोटका लागि हात जोड्न पर्दैन”
गैलुक क्षेत्रमा मात्र ४२ घरपरिवार बसोवास गर्दै आएका छन । गाउँमा जताततै खानेपानीको हाहाकार छ । खडेरीका बेला गाउँका कुवा, खोल्सीमा पानी खोज्नेको लर्को नै हुन्छ ।
यहाँका मतदाताले दलगत नभई विकासप्रेमी विवेकशील उम्मेदवारलाई मतदान गर्ने पक्षमा रहेको गैलुकका स्थानीय रुद्र मल्ल बताउँछन् । जितेपछि नेता सहरकेन्द्रित हुँदा पनि गाउँको समस्याले पार नपाएको उनले बुझाई छ । दर्छाकी राममाया राना भन्छिन् –“विगतका निर्वाचनमा चाहिँदा नचाहिँदा आश्वासन धेरै पायौँ । तर यस पटक भने विकासप्रेमी नेतृत्वलाई मात्र मतदान गर्छौै ।” रासस