एक वर्षमा त्रिशूली नदीमा २७ दुर्घटना, ४४ को मृत्यु, १९ बेपत्ता
त्रिशूली नदीको चितवन खण्डमा एक वर्षको अवधिमा १९ जना बेपत्ता भएका छन् ।
नारायणगढ–मुग्लिन सडक खण्डको ३६ किलोमिटर र पृथ्वी राजमार्गको मुग्लिनदेखि मौवा खोलासम्म २० किलोमिटर गरी ५६ किलोमिटर सडक त्रिशूली नदीको किनारमा पर्दछ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा यो खण्डमा २७ वटा ठूला दुर्घटना भएका छन् । जसमा ४४ जनाले ज्यान गुमाएका छन् –भने १९ जना बेपत्ता भएका छन् । ९१ जना घाइते भएका छन् ।
विगतका वर्षमा यो तथ्याङ्क निकै कम देखिन्छ । गत आर्थिक वर्षमा सोही क्षेत्रमा तीनवटा मात्र दुर्घटना भएका थिए । जसमा दुई जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए । कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०७१/७२ मा सात वटा दुर्घटनामा सात जनाको मृत्यु, ९ जना घाइते र तीनजना बेपत्ता भएका थिए । रासस