नदीसँगै उद्यान
अस्कर फ्रेलिन
मनोहरादेखि विष्णुमती नदीसम्म बनाइने 'वागमती नदी उद्यान' ले वागमतीको स्वरुप फेर्ने मात्र होइन, काठमाडौंले नै जीवन प्राप्त गर्नेछ ।
दक्षिणएशियामा तीव्र गतिमा विकास हुँदै गरेको शहरहरूमध्येको एक हो– काठमाडौं । पछिल्लो दशकमा यहाँको शहरी क्षेत्रमा नाटकीय रूपान्तरण आएको छ– खासगरी हरित क्षेत्र निकै साँघुरिएको छ। वायु प्रदूषण, फोहोर व्यवस्थापन जस्ता धेरै वातावरणीय समस्या व्यहोरिरहेको मुलुककै राजधानी विश्वकै अव्यवस्थित र साँघुरो शहरमा पर्छ ।
महानगरको तीव्र क्षयीकरणको प्रमाण हो– वागमती नदी। अन्य सहायक नदीहरूसँगै वागमती काठमाडौं उपत्यकाको मुख्य 'ल्याण्डमार्क' हो, यहाँको सभ्यताको धमनी हो। तर, केही दशक अघिसम्म बालुवामाथि सफा पानी बग्ने यो जीवन्त नदी अहिले दुर्गन्धित नालामा परिणत भएको छ ।
काठमाडौंवासी स्वस्फूर्त रूपमा वागमती सफाइ अभियानमा जुटेका छन्। नदी क्षेत्रको फोहोर उठाइरहेका स्वयम्सेवीहरूको काममा थप मद्दत गर्न नदी किनारलाई हरियालीमा रूपान्तरण गर्नुपर्छ। नदीको संरक्षण गर्न स्थानीयलाई नै जिम्मा दिनुपर्छ, जसले मानव, प्रकृति र संस्कृतिबीच कसिलो सम्बन्ध विकसित होस्।
वागमती नदी र शहरलाई पुनर्जीवन दिन हामीले 'वागमती नदी उद्यान' प्रस्तावित गुरुयोजना तयार गरेका छौं। गुरुयोजनामा मनोहरादेखि विष्णुमतीसम्मको नदी किनारमा हरियाली क्षेत्रसँगै साइकल र पैदल यात्रीका लागि बाटो बनाउने योजना छ। यसबाट काठमाडौंको वायु प्रदूषण न्यूनीकरणमा सहयोग पुग्नेछ, शहरी क्षेत्रको भीड कम हुनेछ भने मनोरञ्जन वा शारीरिक तन्दुरुस्तीका लागि घुम्न चाहनेहरूले नयाँ ठाउँ पाउनेछन् ।
गुरुयोजनामा काठमाडौं र पाटनको सीमामा पाँच किलोमिटर लामो उद्यानको परिकल्पना पनि गरिएको छ। यस्तो उद्यान निर्माणले स्थानीयको हरित सार्वजनिक स्थलको माग पूरा गर्नेछ। जैविक विविधता र वनस्पतिबाट प्रेरित भई सावधानीपूर्वक निर्मित योजनाको डिजाइनले ऐतिहासिक–मौलिक सम्पदा संरक्षणमा विशेष जोड दिएको छ। वन क्षेत्र, परम्परागत पार्क, एकान्त स्थल, सांस्कृतिक समारोहका लागि सार्वजनिक स्थल समेत उपलब्ध हुनेछ। शहरको यो नयाँ हरित क्षेत्रमा नियमित खेलकुद र अन्य कार्यक्रमहरू पनि आयोजना गर्न सकिनेछ ।
प्रस्तावित पार्क क्षेत्रका शंखमूल, थापाथली र टेकूजस्ता ठाउँमा पहिल्यैदेखि महत्वपूर्ण मन्दिरहरू छन्। कुनै बेला तीर्थयात्रीका लागि पवित्र स्थल मानिने र अहिले उपेक्षित अवस्थामा रहेका मन्दिरहरूको वैभवलाई पार्कले पुरानै अवस्थामा फर्काउने छ।
स्थानीयलाई ती स्थानहरूसँग पुनः जोड्ने छ, सम्पदा र संस्कृतिको संरक्षण हुनेछ ।
नदीलगायत विभिन्न क्षेत्र र आवश्यकतालाई समेत ध्यान दिएर बृहत् अवधारणाअन्तर्गत बनाइएको वागमती गुरुयोजना अनुसार काम हुने हो भने काठमाडौं पुनः जीवन्त बन्नेछ। हुन त विगतमा पनि शहर सुधारका लागि पहलहरू नभएका होइनन्, योजना नबनेका होइनन्, तर यतिबेला यो गुरुयोजनाको कार्यान्वयनको खाँचो पहिलेभन्दा धेरै छ। १५ वर्षपछि भर्खरै स्थानीय तहमा नयाँ जनप्रतिनिधि चुनिएका छन्। त्यसैले पनि आशा गर्ने ठाउँ धेरै छ ।
विश्वमा ठूला शहरहरू यस्तै हरित परियोजनाबाट कायाकल्प भएका छन्। यसले स्थानीयलाई फाइदा मात्र होइन, शहरलाई 'रिब्राण्ड' गर्दै पर्यटक भित्र्याउनमा समेत मद्दत गर्छ। वागमती किनार हरियो भए उपत्यकाको जनजीवन र सभ्यतामाथि नै दूरगामी प्रभाव पार्नेछ ।
मनोहरादेखि विष्णुमतीसम्म हरित क्षेत्र कल्पना गरिएको यो उद्यानबाट काठमाडौं र ललितपुरको परिचय फेरिनेछ। पुनर्संरचना गरिएको नदीक्षेत्र (दायाँ तस्वीरमा) ले काठमाडौंवासीका लागि जलाधार क्षेत्र ब्यूँताइदिनेछ। हरियो उपत्यकाले नदीसँग शहरवासीको सम्बन्ध पुनर्स्थापित गर्दै सांस्कृतिक सम्पदा र प्रकृतिसँग तादात्म्य मिलाउन सहयोग गर्नेछ ।
'वागमती नदी उद्यान' को यो प्रस्ताव स्नातकोत्तर अध्ययनरत डेनमार्कका अस्कर फ्रेलिन र जेन्स हान्सेन होल्मले 'वागमतीको उपचार' शीर्षकमा शोधका क्रममा तयार पारेका हुन्। यसका लागि उनीहरूले सन् २०१६ मा ६ महीना नेपालमा विताएका थिए। प्रस्तुत इलुस्ट्रेशनहरू शोधपत्रबाटै लिइएको हो, जसको विस्तृत रूप www.healingbagmati.com मा हेर्न सकिन्छ ।