दाहालको दाबी, 'म प्रधानमन्त्री नभएको भए स्थानीय तहको चुनाव सम्भव थिएन'
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू प्रधानमन्त्री भएपछि मात्रै स्थानीय तहको निर्वाचन संभव भएको बताएका छन् ।
९ असारमा कञ्चनपुरको पुर्नवासमा आयोजित माओवादी केन्द्रको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कांग्रेस र एमाले स्थानीय तहको चुनावको पक्षमा नरहँदा पनि आफ्नै जोडबलले पहिलो चरणको निर्वाचन सम्पन्न गराएको र दोस्रो चरणको सुनिश्चित गराएको दाबी गरे ।
"`कांग्रेस र एमाले पुरानै गाविस र नगरपालिकाको जस्तो स्थानीय निकायको पक्षमा थिए," दाहालले भने, "मेरै जोडबलले स्थानीय तहको चुनाव संभव भएको हो ।"
माओवादी केन्द्रले सिंहदरबारलाई गाउँ गाउँमा पुर्याएको दावी गर्दै उनले भने, "अब यसको साँचो काम गर्नेलाई दिनुस् ।" आफूले दश महिनामा काम गरेर देखाएको उल्लेख गर्दै उनले आफूलाई सम्झेर माओेवादी केन्द्रका उम्मेदवारलाई भोट दिन आग्रह गरे ।
आजै दाहालले धनगढीको फूलबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए ।
कञ्चनपुरको पुर्नवास नगरपालिकामा माओवादी केन्द्रका तर्फबाट वीरबहादुर थापा र सीता विक, नेपाली कांग्रेसका तर्फबाट तोयाप्रसाद शर्मा र भुलिया राना तथा नेकपा एमालेका तर्फबाट जीवन थापा र शारदा विष्ट मेयर र उपमेयरका उम्मेद्वार छन् ।
वच्चु बिक, धनगढी