नेपाल उहिले र अहिले (तस्वीरहरुमा)
अमेरिकी पिस कोर स्वयम्सेवी डउ हल र उनकी पत्नी केट र्याफर्टी ले संकलन गरेका आधा शताब्दी अघिको नेपालका तस्वीरहरु र ती स्थानका हालका तस्वीरहरुले यसबीच नेपालमा आएको परिवर्तन देखाउँछन् । प्रस्तुत तस्वीरहरु पिस कोर स्वयम्सेवीहरुबाट हल जोडीले गरेको संकलन र इन्टरनेटमा पाइएका हालका तस्वीरहरु हुन् ।
(माथिको तस्वीरको बीचमा कर्सर राखेर दायाँ बायाँ तन्काउँदै दुवै तस्वीर ठूलो साइजमा हेर्न सकिनेछ)
अमेरिकी पिस कोर स्वयम्सेवीहरु पहिलोपटक सन् १९६२ मा नेपाल आएका थिए । हालसम्म करिब ३,८०० पिस कोर स्वयम्सेवीहरु नेपाल आएर विभिन्न क्षेत्रमा सेवा पुर्याएका छन् । अहिले नेपालका विभिन्न स्थानमा ६८ जना स्वयम्सेवीले सेवा दिइरहेका छन्, उनीहरु कृषी र पोषण शिक्षाका क्षेत्रमा काम गरिरहेका छन् ।
अमेरिकी नागरिक डउ हल पनि सन् १९६८ देखि १९६९ सम्म नेपालमा पिस कोर स्वयम्सेवीका रुपमा कार्यरत थिए । त्यसबेला उनले खिचेका थुप्रै तस्वीरहरुलाई डिजिटाइज्ड गरेर फेसबुकमा राखे । केही नेपालीहरुले यि तस्वीरहरु ऐतिहासिक महत्वका भएकोले संरक्षण गरेर राख्न सुझाव दिएपछि उनकी पत्नी केट र्याफर्टीको सहयोगमा अन्य पिसकोर स्वयम्सेवीहरुले खिचेका तस्वीरहरु समेत जम्मा पार्न थाले ।
सन् १९६२ देखि १९७५ सम्मका तस्वीरहरु उनीहरुले सक्दो जम्मा पारेका छन् ।
“१९६० मा नेपाल पुगेका स्वयम्सेवीहरु अहिले कम्तिमा पनि ७० वर्षका भइसके,” हल भन्छन, “केहीको मृत्यु भइसक्यो, उनीहरुका आफन्तले त्यस्ता तस्वीर संरक्षण गरेर राख्दैनन् इतिहास मेटिएला भनेर हामीले तस्वीर संकलन गरेका हौं ।”
तीन वर्षको प्रयासपछि हल दम्पतीले त्यसबेलाको नेपालका १९ हजार भन्दा बढी तस्वीरहरु जम्मा पारिसकेका छन् । उतीबेलाको नेपालका तराई, पहाड र हिमालका यि तस्वीरहरु रोचक छन् । हलले त्यसबेलाका तस्वीरहरु नेपाल पिक्चर लाइब्रेरी, मदन पुरस्कार पुस्तकालय, तारागाउँ संग्रहालय लगायतलाई उपलब्ध गराएका छन् ।
यस्ता थुप्रै तस्वीरहरु http:/roundsimaging.com/galleries/nepal-photo-history-contributors/contributor-display-albums/ मा हेर्न सकिन्छ ।
नयाँ वन
यो ५० वर्षको अवधिमा नेपालमा सामुदायिक वन फस्टाएको छ । केही सुख्खा डाँडाहरु रुखले ढाकिएका छन् । पुराना तस्वीरहरु पिस कोर स्वयम्सेवीहरुले खिचेका हुन् ।
चौताराः सन् १९६९ (तस्वीरः केट रार्फर्टी हल), सन् २०१७ (तस्वीरः जीवन नेपाल)
तानसेनः सन् १९७३ (तस्वीरः रिच प्फुयू) सन् २०१४ (तस्वीरः मुक्ती अर्याल)