परीक्षा नियन्त्रण कार्यालयको लापरवाही: परीक्षा एउटा विषयको, रिजल्ट अर्को विषयको
परीक्षा नियन्त्रण कार्यालयले २ असारमा सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजामा विषय परिवर्तन भएर नतिजा आएपछि कार्यालयमा सच्याउन आवेदन दिनेको भीड लागेको छ ।
भक्तपुरको कमलविनायकस्थित मनकामना इङ्लिस सेकेन्डरी स्कुलका विद्यार्थीले आफूले नपढेको र परीक्षा नदिएको विषयको नतिजा आएपछि उनीहरु तनावमा छन् ।
यस विद्यालयबाट एसईई परीक्षा दिएका सन्देश साङमी, सृष्टि शाक्य र सीतारा तजलेले एउटा विषयको परीक्षा दिएकोमा अर्को विषय उल्लेख गरी नतिजा आएको विद्यालयका प्रिन्सिपल श्रीराम आचार्यले बताए ।
परीक्षा दिएको भन्दा फरक विषयको नतिजा आएपछि आफूले रोजेको कलेजमा छात्रवृत्तिमा विज्ञान विषय लिएर डाक्टर पढ्ने सपना चकनाचुर भएको विद्यार्थी साङमीले गुनासो गरे ।
आर्थिक अवस्था कमजोर भएका साङामीको परिवार एसईईको नतिजा आएपछि निकै चिन्तामा परेको छ । उनी भन्छन्, “घरमा सबै चिन्तामा छन्, सधैँ कक्षामा प्रथम हुँदै आएकाले एसईईमा नतिजा पनि राम्रो आउँछ, डाक्टर बन्नुपर्छ भन्ने परिवारको चाहना थियो, मेरो सपना र परिवारको खुशी खोसियो ।”
कक्षामा सधैँ प्रथम हुने साङ्मीलाई छात्रवृत्ति दिन्छु भन्ने कलेजले समेत अहिले त विज्ञान विषयमा भर्ना नै लिन नमानेपछि उनको भविष्य अन्यौल बनेको विद्यालयका प्रिन्सिपल श्रीराम आचार्यले बताए ।
त्यस्तै कक्षामा सधैँ दोस्रो हुने भक्तपुर भोलाछेकी सृष्टिको परिवार एसईईको नतिजा अपेक्षाकृत नभएपछि राम्रोसँग निदाउन समेत सकेका छैनन् । सृष्टिले ऐच्छिक गणितमा दिएको परीक्षाको नतिजा अर्थशास्त्रमा आएको र अन्य विषयमा समेत ‘ए’ प्लस आउने अपेक्षा गरिएकोमा ‘डि’ आएपछि सिङ्गो परिवार तनावमा रहेको उनले बताए ।
ऐच्छिक गणितमा परीक्षा दिएपनि ऐच्छिक अर्थशास्त्रको नतिजा आएपछि विज्ञान विषय पढ्ने चाहना अपूरो बनेको बताउँदै भक्तपुर कमलविनायककी सीताराले ‘ए’ प्लस आउँछ भनेको अन्य विषयमा समेत ‘सि’ प्लस आएपछि थप तनाव भएको बताइन् ।
सबैमा ‘ए’ प्लस आए पनि अङ्ग्रेजीमा ‘डि’ प्लस नतिजा आएपछि चिन्तामा परेकी टिना मानन्धरले कार्यालयमा गएर पुर्नयोगका लागि आवेदन दिएकी छिन् ।
यता मध्यपुरथिमि गठ्ठाघरमा रहेको भक्तपुर इङ्लिस स्कुलबाट एसईई परीक्षा दिएका ५१ जना विद्यार्थीको विज्ञान विषयको प्रयोगात्मक विषयको नम्बर घटाएर नतिजा सार्वजनिक गर्दा जिपिए नै घटेपछि पनिकाप्रति विद्यार्थीले आक्रोसित बनेका छन् ।
विद्यालयले जिल्ला शिक्षा कार्यालयमार्फत सबै विद्यार्थीको विज्ञान विषयको प्रयोगात्मक परीक्षाको २५ नम्बर पठाए पनि नतिजा आउँदा भने २२ मात्रै कायम गरिएको छ ।
पाएको नम्बर पनि घटेर आउँदा ‘ए’ प्लस आउँने विद्यार्थीको नतिजा ‘ए’ मात्रै आएको भन्दै विद्यार्थी आक्रोसित बनेको विद्यालयका प्रिन्सिपल श्रीनारायण यादवले बताए ।
विद्यार्थीले चाहेको विषय पढ्न नपाउने भएकाले कार्यालयको लापर्बाहीले विद्यार्थीको भविष्य नै अन्यौल बनेको उनको भनाइ थियो ।
परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले भने सिस्टमका कारण त्रुटि भएको हुनसक्ने जिकिर गर्दै कार्यालयले यसलाई सच्याउने बताएका छन् ।
एउटा विषयमा परीक्षा दिएर अर्को विषयमा नतिजा आएको हकमा विद्यार्थीले कार्यालयमा सम्पर्क गरेर जानकारी गराए केही दिनभित्रै सच्याएर पठाउने र नम्बर नपुगेको हकमा भने रु ५०० बुझाएर पुर्नयोगमा निवेदन दिनुपर्ने उनले बताए ।
रासस