नेपाल–भारत सीमा नाका बन्द हुने
१४ असारमा हुन लागेको स्थानीय तह निर्वाचनको सुरक्षाका लागि बाँके जिल्लाको नेपाल–भारत सीमा नाका ४८ घन्टाका लागि बन्द हुने भएको छ ।
प्रमुख जिल्ला अधिकारी रविलाल पन्थका अनुसार दुवै देशका सीमा सुरक्षा पदाधिकारीको बैठकबाट भएको सहमतिबमोजिम १२ असारदेखि ४८ घन्टासम्म सवारी साधन र पैदल यात्रु आवतजावतमा पूर्ण रोक लगाइने छ ।
निर्वाचन प्रयोजनका लागि जिल्लाको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त र सुदृढ बनाइएकाले मतदाताले ढुक्क भएर मतदानमा भाग लिन सक्ने प्रजिअ पन्थले बताए ।
“जिल्ला सुरक्षा समितिले निर्वाचन प्रयोजनका लागि तयार गरेको सुरक्षा रणनीतिक तथा कार्यनीतिक योजनाअन्तर्गत जिल्लाका ४० स्थानमा सशस्त्र प्रहरी पोष्ट र १५ स्थानमा नेपाली सेनालाई तैनाथीको अवस्थामा राखिसकेका छौँ”, प्रजिअ पन्थले बताए । रासस