ब्लगबिहिवार, आषाढ ८, २०७४

'बुद्धिष्ट इरोटिका' को अर्थ

वसन्त महर्जन

महिलालाई अँगालोमा कसेर सम्भोगरत देखिने मूर्ति गौतम बुद्धको नभई समन्तभद्र बोधिसत्वको हो ।

केही वर्षअघि नेपाल टेलिभिजनबाट प्रसारित एउटा सामग्रीमा बुद्धका अश्लील मूर्तिहरू खुल्लमखुल्ला बजारमा बिक्रीका लागि राखिएको भन्दै

समन्तभद्र।

आपत्ति जनाइएको थियो। ठीक त्यही बेला भारतमा पनि बौद्धमार्गीहरूले त्यस्ता वस्तुमाथि प्रतिबन्ध लगाउन माग गर्दै सरकारी निकायमै निवेदन दिएको समाचार पनि प्रकाशित भएको थियो। तर दुवै देशमा त्यस्ता सामग्रीमाथि प्रतिबन्ध लगाइएको भने छैन । 

'बुद्धसम्बन्धी अश्लील सामग्री' वा 'बुद्धिष्ट इरोटिका' भनिएका त्यस्ता वस्तुलाई लिएर बेला–बेला अहिले पनि चर्चा चल्छ। बौद्ध धर्म र इतिहाससम्बन्धी सामान्य जानकारी पनि नभएकामा मात्र होइन महायानी बज्रयानी धर्मदर्शनका सम्बन्धमा जानकार नभएका बौद्धहरूमा पनि यस्तो भ्रम देखिन्छ ।

काठमाडौं उपत्यकाका पर्यटकीय क्षेत्रहरूमा बेच्न राखिएका सामानहरूमा स्त्रीलाई अँगालोमा लिई संभोगरत मुद्राजस्तो देखिने मूर्तिलाई 'सेक्सी बुद्ध' भन्ने गरेको पाइन्छ। तर, यो बुद्ध नभई समन्तभद्र बोधिसत्वको मूर्ति हो। यी र यस्ता थुप्रै बोधिसत्व तथा अन्य पात्रहरू ऐतिहासिक नभएर बौद्ध दर्शन बुझाउन व्यक्त गरिएका रुपहरू मात्र हुन् ।

बौद्ध समाजमा निकायभेदको चर्चा गर्दा थेरवाद, महायान र बज्रयानको विशेष चर्चा हुने गर्दछ। गौतम बुद्ध (इ.पू. ५६३–४८३) को महापरिनिर्वाणको करीब १०० वर्षपछि औपचारिक रुपमा नै स्थविरवाद र महासांघिक दुई वटा निकायभेद भएको पाइन्छ। इसाको तेस्रो शताब्दीसम्ममा स्थविरवादबाट १२ र महासांघिकबाट ६ गरी अठारवटा निकाय (अष्टादश निकाय) देखियो। स्थविरवादतर्फका निकायहरूको अवशेष अहिले थेरवाद रहेको छ भने महासांघिकहरू हराउने, बिलाउने तथा विकास हुने क्रममा महायानी सम्प्रदाय रहेको पाइन्छ। महायान दर्शनमा तन्त्रयान र मन्त्रयानको विकासबाट बज्रयान देखा परेको छ, यद्यपि यसलाई महायानअन्तर्गत नै राखिएको छ। बुद्धका धर्मदर्शनलाई पछिल्ला आचार्यहरूले व्याख्या गर्ने वा कुनै एक पक्षमा बढी जोड दिने क्रममा अझ थप सम्प्रदायहरूको जन्म भएको पाइन्छ। बौद्ध दर्शनलाई व्यक्त गर्ने कुरामा मात्रै होइन, अभ्यासमा पनि अनेकन् उपाय अपनाउन थालेको पाइन्छ ।

त्यसैको नतिजा हो, संभोगरतजस्तो देखिने यस्ता मूर्ति तथा 'सेक्सी बुद्ध' हरू । 

चक्र सम्भार, चक्र सम्भार र बज्रयानी, योगम्बर।

गौतम बुद्धले उपदेशलाई अलिकति पनि तलमाथि नपारी मौलिकता जोगाएर राखेको दाबी थेरवादीहरू गर्छन्। त्यसैले यो सम्प्रदायले गौतम बुद्ध र त्यसअघिका अन्य मानव बुद्धहरूको मात्र कुरा गर्छ। महायान तथा बज्रयानले भने मानव बुद्धहरूबाहेक पञ्चध्यानी बुद्धलगायत अन्य असंख्य बुद्ध र बोधिसत्वको कल्पना गरेको पाइन्छ, जसको प्रयोजन बौद्ध दर्शनलाई अभिव्यक्त गर्नु हो। थेरवादतर्फ शान्त र भद्र भिक्षु–भिक्षुणीको चरित्र चित्रण गरेको पाइन्छ तर महायान बज्रयानतर्फ अनेकौं रुप रंग तथा हाउभाउका मूर्ति तथा चित्रकला सिर्जना गरिएका देखिन्छन्। यी सिर्जना डरलाग्दा र क्रूद्ध स्वभावका मात्रै छैनन्; कामुक, नग्न र संभोगरत समेत छन् ।

सामान्यतः बौद्ध शिक्षामा क्रोधको स्थान छैन। तर, व्यक्तिगत नभएर धेरैको कल्याणार्थ 'महाक्रोध', 'महामोह' जस्ता कुरालाई आदर्श मानेको पाइन्छ। क्लेशबाट मुक्त भइसकेको अर्थ दिन ती पात्रहरूलाई वस्त्रविहीनसमेत बनाउन थालियो। संभोगरत दृश्यको तात्पर्य त ज्ञानमा एकाकार हुनु हो। हालै प्रकाशित पुस्तक नेपाली कलाको रुपरेखा मा संस्कृतिविद् सत्यमोहन जोशीले लेखेकै छन्– ''कालचक्रले बज्रघन्टसहित आलिङ्गनमा शक्तिलाई आफूतिर तानेको कामुक नग्न चित्रको जब अध्ययन हुन्छ, त्यसबेला दर्शकलाई स्थूल दृष्टिले काम दिंदैन, उसको निम्ति त्यस बेला सूक्ष्म दृष्टिकै आवश्यकता पर्दछ, किनभने कालचक्र शक्तिवादभित्र पलाएको शून्यतावादको प्रतीक हो। जसमा महायानी बौद्ध दर्शन व्याप्त बनेको हुन्छ र शून्यको सर्वोच्च ज्ञान प्राप्त हुने बित्तिकै नै कालचत्र र शक्तिको द्वैत वास्तविकता नबनी केवल देख्न मात्रको बनी तत्कालै मिटेर जाने हुन्छ ।''

बज्रयोगिनी।

बज्रयोगिनीलगायतका केही बौद्ध मूर्ति पनि वस्त्रहीन हुन्छन्। तर, मैथुनरत मुद्रामा बुद्धका रुप प्रस्तुत गरिएको भने पाइँदैन ।

महिषसंवर, मेषसंवर, नरसिंहसंवर, चक्रसंवर, कालचक्र, योगाम्बर आदिलाई स्थूल दृष्टिमा भने मैथुनरत देखाइएको पाइन्छ ।

महायानी बज्रयानी बौद्ध साधकको एउटा साधना चर्यानृत्य पनि हो। गोप्य र गुह्य भनेर आफ्नो साधनामा सीमित राखिएको यसलाई अहिले सार्वजनिक रुपमा प्रस्तुत गरिन्छ, जसमा कतिपयमा मूर्ति तथा चित्रकलामा जस्तै संभोगको अभिनय पनि देखाउनैपर्ने हुन्छ। २०५६ साल माघको पहिलो साता बुटवलमा आयोजित अन्तर्राष्ट्रिय हिन्दू सम्मेलनको साँझको सांस्कृतिक कार्यक्रममा प्रस्तुत चर्यानृत्य 'धार्मिक सभामा रसरंग' भन्दै आपत्ति जनाएर भारतीय धर्मगुरुहरू बाहिरिएको घटना पनि यहाँ सान्दर्भिक हुन्छ। यसले अर्थको अनर्थ कसरी लगाइन्छ भन्ने पुष्टि हुन्छ। साथै बज्रयानी बौद्ध साधनाका यी विषयवस्तुलाई हलुका ढंगले व्यापारीकरण गर्न नहुने सन्देश पनि दिन्छ ।

प्रतिकृया दिनुहोस