बाँकेमा १०१ मतदान केन्द्र अतिसंवेदनशील
जिल्ला प्रशासन कार्यालय बाँकेले १४ असारमा हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि १०१ मतदान केन्द्र अतिसंवेदनशील र ३५ वटा संवेदनशीलको सूचीमा राखेको छ । १५९ सामान्य सूचीमा छन् ।
बाँकेमा साम्प्रदायिक/धार्मिक गतिविधि, भारतसँगको खुला सीमा साथै राष्ट्रिय जनता पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको निर्वाचन विरोधी गतिविधिलाई मुख्य चुनौतिको रुपमा हेरिएको छ ।
सुरक्षा चुनौतीलाई ध्यानमा राखेर तदनुसार सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी खगेन्द्र पौडेलले जानकारी दिए ।
मतदातालाई ढुक्क भएर मतदान गर्ने वातावरण बनाउन मतदानस्थल तथा मतदान केन्द्रको अवस्थाका बारेमा जानकारी लिइएको बाँके प्रहरी प्रमुख टेकप्रसाद राईले बताए ।
उनले मतदान केन्द्रमा आवश्यक परेको खण्डमा १० मिनेट भित्रै थप प्रहरी पुग्ने गरी सुरक्षा व्यवस्था मिलाइएको जानकारी गराए ।
बाँकेको सुरक्षा अवस्था अहिले राम्रो रहेको प्रहरी उपरीक्षक राइको दाबी छ ।
बाँकेमा एक उपमहानगर, एक नगरपालिका र ६ गाउँपालिकामा २९५ मतदान केन्द्र र १३६ मतदान स्थल छन् ।
केशव राना, बाँके