ब्लगमंगलवार, आषाढ ६, २०७४

कौवा, मोबाइल र अख्तियार

कनकमणि दीक्षित

के सम्बन्ध छ एउटा पन्छी प्राणी, एउटा उपकरण र एउटा टंगाल दरबार बीच?

करीब १२ वर्षअघिको कुरा, पाटनढोका छेउको एउटा छत। कौसीको डिलमा चिल्लो हृष्टपुष्ट काग र छेवैमा मेरो सानो, कालो नोकिया मोबाइल फोन। कुनै देशमा सेलफोन भनिन्छ यसलाई, कतै ह्याण्डी, हामीकहाँ भने मोबाइल। केही कामको लागि म कोठाभित्र पस्छु, बाहिर आउँदा डिलको नोकिया छैन, न त त्यो काग नै। 

आजसम्म मैले भन्ने गरेको छु, 'कौवाले मेरो फोन चोर्‍यो।' तर विभिन्न कारण मेरो विश्वसनीयता कम भएरै होला, यो कुरा पत्याउने आजसम्म एकाध नागरिक मात्र छन्। म भने तर्क मात्र पेश गर्न सक्दछु, कि एक छिन अघिसम्म काग र मोबाइल त्यही डिलमा थिए। एक छिनपछि दुवै छैनन्।

'डिडक्टिभ लजिक' ले भन्छ– मोबाइलको खुट्टा वा पांग्रा हुँदैन आफसेआफ यताउता गर्न सक्दैन। कौवा भने उड्छ, हिंड्छ, फेरि चम्किला कुरा टिपटाप गरेर गुँडमा लग्ने उसको आदतै हो।

कौवा बाठो हुन्छ, सानो नोकिया टिपेर लग्ने क्षमता पनि राख्दछ, र पाटनढोका छेवैको ठूलो पीपलको रूखमा रहेको (शायद) उसको गुँडमा मेरो मोबाइल स्थानान्तरण गर्‍यो। फोन बज्यो होला गुँडमा त्यो दिन, ब्याट्री नसकुन्जेल।

यो त भयो उतिबेलाको स्मार्टफोन पूर्वको मोबाइल। आजसम्म आइसक्दा नेपालमा 'मोबाइल पेनेट्रेशन' ह्वात्तै बढिसक्यो, यदाकदा मात्र यो यन्त्र प्रयोग नगर्ने नागरिक पाइन्छन्; हिमाल, पहाड र समथरमा।

स्मार्टफोनको घरघरमा बिगबिगी भइसक्दा पनि मैले भने एक वर्ष अघिसम्म फोनकल र मेसेजिङ गर्न मात्र 'डम्बफोन' नै प्रयोग गर्थें। मलाई स्मार्टफोन लिन प्रेरित गरे कुनै बेलाका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले।

कसरी? खबर त आइहाल्यो, कि नेपाल प्रहरी जसलाई अख्तियारको एउटा हजुरिया अंग बनाइसकेको थियो, उसको फोन 'ट्यापिङ' र 'सर्भेलेन्स' का सबै उपकरण टंगाल दरबारले आफ्नो झै बनाइसकेको थियो।

अख्तियार भित्रबाटै खबर आयो व्यक्तिविशेषको मेसेजहरुको प्रिन्टआउट महामहिम कार्कीको टेबलमा पुग्ने गरेको छ र दूरसञ्चार प्राधिकरणबाट सूचना आयो, म मात्र के आफन्तहरू सबैको फोन ट्याप गर्ने पत्र आएको कुरा।

यस्तै अवस्थामा कुनै पनि विद्युतीय या अन्य आविष्कार अपनाउन चार–पाँच वर्ष अन्कनाउने र ढिलो गर्ने यो लेखकलाई सुझाव आयो– भाइबर वा ह्वाट्स्याप चलाउन थाल्नु। किनकि 'इन्कृप्टेड' भएकोले यी यापहरूमा महामहिम लोकमानसिंहको कान आँखा दगुर्न पाउँदैन। यही कारण थियो मैले डम्बफोनबाट स्मार्टफोनमा बसाइँ सरेको। जसको लागि कार्कीज्यूलाई धन्यवाद नदिउँक कि?

जे होस् फोन कहिले हराउने कहिले कागले टिपेर लग्ने अनुभव समेटेको लेखकलाई त्यो स्मार्टफोन धेरै फाप्दैन भन्ने त शुरुमै लागेको थियो, तर भाइबर र ह्वाट्स्यापले राम्रै योगदान गरेको कुरा स्वीकार्छु।

त्यतिबेला पत्रकार, जुझारु, सूचनादाता, ह्वीसलब्लोअर, कर्मचारी, नेता, व्यवसायी― स्मार्टफोनमार्फत इन्कृप्टेड भाइबर र ह्वाट्स्यापको प्रयोग नगर्ने कोही थिएन। “भात खानुभयो?” सोध्न पनि डराउनुपर्ने अवस्था पो त थियो त्यो कसै कसैको लागि।

अन्ततोगत्वा लोकमान–दरबार गर्ल्यामगुर्लुम ढल्यो। त्यही दिनदेखि मेरो स्मार्टफोनको पनि दिनगन्ती शुरु भयो। आत्म–अनुशासन नभएको मान्छे म, स्मार्टफोनले जीवनमा हरेक तरिकाले हस्तक्षेप गरेको पाएँ, र कसरी इमेल, फेसबूक, ट्वीटर इत्यादिले जता गयो त्यतै पछ्याउने अवस्थाबाट उम्कने भन्नेमा थिएँ।

शुरुमा आफ्नै मोटरको टायरले राम्रैसँग स्मार्टफोनलाई टेकेर हिंडेछ, फोन खल्तीबाट जमीनमा खस्दा। त्यस्तरी गाडी गुड्दा पनि ऐना मात्र अलिकति चर्केथ्यो, फोन त चलिनै रहेथ्यो। तर विस्तारै मेरो स्मार्टफोनको आत्माले शरीर त्याग्ने अवस्था आयो, र एकदिन मैले स्मार्टफोनबाट छुटकारा पाएँ।

आज फेरि सानो, कालो नोकिया डम्बफोन हातमा बोक्न पुगेको छु। चराचुरुंगी, हवाईजहाज, पहाड, मौसम, बादल फेरि हेर्न थालेको छु, स्मार्टफोनमा घोसेमुन्टो लगाउनु साटो। तर के थाहा, फेरि महत्वाकांक्षी कुनै महानुभाव आइपुग्नेछन् समाजमा हैकम जमाउँछु भन्दै र फेरि स्मार्टफोन टिप्नुपर्ने हो कि?

प्रतिकृया दिनुहोस