रिपोर्टमंगलवार, आषाढ ६, २०७४

आयुसीको खाली सिसी

सविता श्रेष्ठ

पुनःप्रयोग गर्न सकिने फोहोरलाई ल्याण्डफिल साइटमा पुग्न नदिने 'डिजिटल प्लेटफर्म' हो– खाली सिसी ।

आयुसी केसी । तस्वीरः गोपेन राई

“कवाडी सामान भेला पार्छु र त्यसैको काम गर्छु”, काठमाडौं विशालनगरकी आयुसी केसी (२७) ले यसो भन्दा सबै हाँस्थे। त्यस्तो पनि काम गर्ने हो र? भन्थे। तर, उनले मनमनै यसको योजना बुनिसकेकी थिइन् ।

व्यवस्थापनमा स्नातक आयुसीलाई आफ्ना साथीहरू जस्तै फोहोर व्यवस्थापनबारे पटक्कै जानकारी थिएन। जताततैको फोहोरले दिक्क भने बनाएको थियो। तर, एक वर्षअघि अमेरिकामा आफन्तको घर पुग्दा घरको फोहोर व्यवस्थापन गरेको देखेर उनी छक्क परिन्। त्यहाँ त बच्चादेखि नै फोहोर रिसाइक्लिङ संस्कार सिकाउन जोड दिइएको रहेछ। त्यहींबाट उनले कवाडी सामानको पुनःप्रयोग तरिकाबारे केही गर्ने सोचेकी थिइन् ।

२७ मार्चमा खाली सिसी नामक फेसबूक पेजमार्फत आफ्नो 'आइडिया' सार्वजनिक गरेकी उनलाई अढाइ महीनाको अवधिमा पाएको प्रतिक्रियाले उत्साहित बनाएको छ। यूएसएडको जागिर छाडेर खाली सिसी को पछि लागेकी उनले कवाडी संकलनका लागि बालुवाटारमा कार्यालय पनि खोलेकी छन् । 

खाली सिसी साथी

आयुसीको अनुभवमा, फोहोर व्यवस्थापनमा नेपाली सजग छैनन्। “सबै फोहोर नगरपालिकाले व्यवस्थापन गर्नुपर्छ भन्ने सोच छ” उनी भन्छिन्, “त्यसैले भएको फोहोर एकमुष्ट जम्मा गरेर गाडीमा पठाइदिने चलन छ।” यी फोहोर सीधै ल्याण्डफिल साइटमा पुग्छन्। यसरी नै फोहोर थुप्रँदै जाने हो भने कति ठाउँमा ल्याण्डफिल साइट बनाउने भनेर दीर्घकालीन रुपमा नसोचिएको उनको भनाइ छ। सकेसम्म घरैबाट कम फोहोर निस्कियोस् भनेर सोच्नुपर्ने उनको आग्रह छ ।

यहाँ सुक्खा र ओसिलो फोहोर छुट्याइने गरेको पाइँदैन। बोतल, प्लाष्टिक, कागजलगायतका वर्गमा फोहोरलाई विभाजित गरेर राख्ने चलन नै छैन। आयुसी फोहोर छुट्याएर राख्ने संस्कार बसाउन चाहन्छिन्। उनको योजनामा अहिले ४० जना स्वयंसेवी युवा अर्थात् 'खाली सिसी साथी' ले सघाइरहेका छन् ।

खाली सिसी साथीले घरघरै पुगेर कवाडी सामान संकलन गरिरहेका छन्। खाली सिसी वास्तवमा फोहोर व्यवस्थापनमा 'डिजिटल प्लेटफर्म' हो। खाली सिसी को फेसबूक पेज वा www.khalisisi.com मार्फत फोहोरको वर्गीकरण गर्ने, फोहोर संकलनका लागि बोलाउने, फोहोर बेच्ने वा दान दिने जस्ता प्रक्रियाबारे बुझ्न सकिन्छ। खबर गर्ने मानिसको पायक पर्ने समय पारेर खाली सिसी साथीहरू फोहोर लिन जान्छन् ।

आयुसी दुई महीनाको अवधिमा २० ठाउँबाट नियमित फोहोर संकलन हुन थालेको बताउँछिन्। आफ्नो योजनामा सहभागी केही खाली सिसी साथीले रु.१० हजारभन्दा बढीसम्मको कारोबार गरेको उनको भनाइ छ ।

प्रत्येक घरबाट निस्कने ६० देखि ७० प्रतिशत फोहोर पुनःप्रयोग गर्न मिल्ने किसिमको हुन्छ। ती फोहोरलाई 'खाली सिसी साथी' मार्फत बिक्री गर्न सके आम्दानी पनि हुने, फोहोर व्यवस्थापनको समस्या कम हुने र वातावरण पनि सफा हुनेलगायतका अनगिन्ती फाइदा मिल्ने आयुसी बताउँछिन्। विश्वका केही देशले सबैखाले फोहोर रिसाइकल गरी शून्य फोहोर (जिरो वेष्ट) को स्थितिमा पुगेको उदाहरण प्रस्तुत गर्दै उनी भन्छिन्, “यहाँ फोहोर रिसाइकल गर्ने उद्योगहरू त छैनन् तर अहिले रिसाइक्लिङ गर्न मिल्ने फोहोर छुट्याएर बेच्न त सक्छौं नि!” संकलित फोहोरलाई उनी अरुजस्तै बिक्री केन्द्रमा बेच्छिन् ।

खाली सिसी लाई आयुसी उद्यममा रुपान्तरण गर्न चाहन्छिन्। र, यसका लागि लगानीको खोजीमा छिन्। “पहिले यस्तो काम गरेर के गर्छौ भन्नेहरू अहिले राम्रो गर्‍यौ भन्न थालेका छन्”, उनी भन्छिन् ।

प्रतिकृया दिनुहोस