परिचय फेरिएको पोखरा
समृद्धि राई
तालैतालको शहर पोखराले आफ्नो परिचयको घेरो फराकिलो पारेको छ ।
एकताका हनिमुन मनाउनेहरुमाझ प्रख्यात पोखरा अहिले केही फरक र साहसिक खेल रुचाउनेका लागि स्वर्ग बनेकोे छ । नव–विवाहित जोडीले साहसिक खेलमा भाग नलिने भन्ने होइन तर, तालहरुको शहरका रुपमा चर्चित पोखराले आफ्नो परिचय धेरै फराकिलो बनाएको पक्कै हो ।
पहिले पोखरामा जाने बाहिरियाहरु घुम्ने ठाउँ डेभिस फल, बाराही मन्दिर र महेन्द्र गुफा थिए । अझै पनि यी ठाउँ उस्तै रमाइला छन् र अझै पनि पोखरा अन्नपूर्ण पदमार्ग शुरु गर्ने ठाउँ हो । तर, त्यसभन्दा फरक अब पोखरा नेपाली युवाका लागि साहसिक गतिविधिको अनिवार्य गन्तव्य बनेको छ । पोखराका होटेल ब्यवासायी अहिले विदेशी भन्दा नेपाली पर्यटकले नै पोखारमा समय र पैसा धेरै खर्चिने बताउँछन् ।
पोखरा हिमालसँग उदेक लाग्ने गरी नजिक छ— ६,९९३ मीटर अग्लो माछापुच्छ्रेको शिखर पोखराबाट सिधा २५ किमी को दूरीमा छ । यहाँका तालहरुले क्षितिजलाई अचम्मसँग आकर्षक बनाएका छन् ।
सबै वर्गलाई सुविधा
पोखरामा सबै हैसियतका पर्यटकलाई सुविधा छः थोरै बजेटमा आउने नेपाली, विदेशी ‘बजेट’ पर्यटक, मध्यम वर्गीय शहरीया परिवार र एक रातको ३०० डलरभन्दा बढी खर्चिन तयार पर्यटक ।
सन् २०१८ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पोखराको नयाँ विमानस्थलले यहाँ पर्यटकको आवागमन अरु बढ्नेछ, सार्क राष्ट्रहरुमा हुने सिधा उडानले गर्दा शहरको गतिविधि अझै बढ्नेछ । पर्यटकीय मौषमको तयारीमा लागेको पोखरामा एडभेन्चरको माहोल अहिल्यै बनिसकेको छ ।
गर्नैपर्ने एडभेन्चरः
पोखरामा गरिने एडभेन्चरलाई मेरो अनुभव अनुसार ५ देखि १ नम्बरमा क्रमशः राखेकी छु । १ सबैभन्दा रमाईलो एडभेन्चर होः
५. वाटर बलिङः
फेवा र बेगनासको पानीमा खेलिने यो खेल पानीमा तैरिने बलभित्र आफुलाई बन्द गरेपछि शुरु हुन्छ । मैले चार पाँच जना अट्ने अलि ठुलो वाटर बल रोजें, अर्को खालकोमा भने एकजना मात्र अटिन्छ । बल भित्र गएर सकेसम्म चाँडो कुद्नु पर्छ । पानीभित्र कुदिराख्नु यसको मजा हो ।
सुझाव: अपरिचितहरुसँग भन्दा साथीहरुसँग वाटर बलिङ गर्दा धेरै रमाईलो हुन्छ । गुम्सिएको ठाउँमा डराउनेका लागि भने यो खेल होइन । शरीर पनि ‘फिट’ हुनुपर्छ ।
४. स्ट्यान्ड—अप प्याडलिङः
भूपरिवेष्ठित नेपालमा सर्फिङको तलतल मेटाउने स्ट्यान्ड—अप प्याडलिङ नै हो । यसको रमाइलो मैले खेल शुरु गर्ने बेला अनुमान गरेकी थिइन ।
सुझाव: यदि तपाइँ एक्लै प्याडलिङमा जाने हो भने, प्याडल बोर्ड लिएको कम्पनीलाई खबर गर्नुहोस, लगातार निगरानी राख्ने कम्पनीले केही घटना हुनेवित्तिकै तपाईँलाई उद्धार गर्नेछ ।
३. जिप—लाइनिङः
संसारकै तीव्र र लामो जीप—लाइन यहीं छ, साराङ्कोटदेखि फेवासम्म । गम्भीर सुरक्षा निर्देशनले यो एडभेन्चरको उत्सुकता झन् बढाउँछ । ६०० मीटर तल जाँदा अर्कै मजा हुन्छ तर, बाँकी दुई मिनेटको यात्रा त्यति डरलाग्दो छैन ।
सुझाव: वरिपरिको हरियाली राम्रोसँग नियाल्नुहोला ।
२. प्याराग्लाइडिङः
प्याराग्लाइडिङ केही समयदेखि पोखराको पयार्य नै बनेको छ । प्याराग्लाइडिङ गर्दा देखिने अन्नपूर्ण, सँगै उड्ने चील र तालका दृश्य अन्यत्र कहीँ हुँदैन । आफनो पाइलटसँग मित्रता गरेर हिमाल र अरु प्राकृतिक सौन्दर्यको बारेमा जानकारी लिन सक्नुहुनेछ तथा केही सुरक्षित हवाइ स्टन्ट गर्न सक्नुहुनेछ ।
सुझाव: यात्रा गर्दा बिरामी पर्ने गर्नुभएको छ भने, सावधान रहनुस् । प्याराग्लाइडिङ गर्नु भन्दा एक घन्टा अगाडिदेखि केही नखानुस् ।
१. बन्जी जम्पिङः
साहसिक खेलहरुमा यो जहिले पनि शीर्षमै रहन्छ । कहालीलाग्दो ९० मी माथिबाट हेर्दा, त्यसमाथि उफ्रने निर्णय गर्दा, तपाईँको शरीरले नमान्दा नमान्दै पनि दिमागले उफ्रने निर्णय गर्छ । मुटु छिटो छिटो धड्किन थाल्दछ, सास छोटो र चाँडो चाँडो लिइन्छ । अन्त्यमा डरलाई जितेका कारण नै तपाईँको दिन गज्जबको बन्छ ।
सुझाव:आरामदायी कपडा लगाउनुहोला, टिसर्टलाई ट्राउजरभित्र घुसारेको राम्रो ।
एडभेन्चर डिएनएः
क्यानोयिङः ल्वाङ घलेल एक दिनको क्यानोयिङका लागि पोखराको सबै भन्दा उत्कृष्ट ठाउँ हो । क्यानोयिङ तपाईँको क्रार्यक्रममा नपरे पनि त्यहाँको सुन्दर झरनाको अवलोकन भने गर्न सक्नुहुनेछ ।
ह्वाइट वाटर र्याफटिङः अन्नपूर्णको मनमोहक दृष्यसँगै तल्लो सेतीमा आधा दिने र्याफटिङको मजा बेग्लै हुन्छ । काली गण्डकी, मस्र्याङ्दी, त्रिशुली र माथिल्लो सेतीमा पनि र्याफटिङ गर्न मिल्छ ।
टयूबीङः टयूबीङ भनेको टायरको टयुबमा एक्लै खोलासँगै तलतिर बग्ने हो । धेरै र्याफटिङ कम्पनीले यो सुविधा दिन्छन् । वर्षा सकिएपछि र सुरक्षाको प्रत्याभूति छ भने मात्र टयूबीङ गर्नुपर्छ ।
बाइकराइडिङः लेकसाइडको वरपर आराम गर्न होस् वा जङ्गलको बाटो होस्, कम्तीमा एकदिनको लागि माउन्टेन बाईक भाडामा लिनुपर्छ ।
हाइकिङः ट्रेकिङमा भन्दा हाइकिङमा पोखराका मनोरम दृश्यहरु अवलोकन गर्दै एकदिने पदयात्रा गर्न सकिन्छ । नौँडाँडा, पन्चासे, ठूलोकोट, सारङ्कोट र विश्व शान्ति प्यागोडा हाइकिङका विश्राम र अवलोकन गर्ने स्थान हुन् ।