राजपा केन्द्रीय कोषाध्यक्ष यादवसहित १५ जना एमालेमा प्रवेश
राजपाका केन्द्रीय कोषाध्यक्ष अनिता यादवसहित विभिन्न दलका १५ जना एमालेमा प्रवेश गरेका छन् ।
अनिता तराई मधेश लोकतान्त्रिक पार्टीका संस्थापक नेता श्रीकृष्ण यादवकी पत्नी हुन । यादवको २०६६ साल माघ ८ मा मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा निधन भएपछि अनिता तमलोपामा सक्रिय भई दोस्रो संविधानसभा निर्वाचनमा उम्मेदवार बनेकी थिइन् ।
एमाले प्रवेश गर्दै अनिता यादवले एमाले नेतृत्वको सरकारले तराईको विकासमा देखाएको चासोले आफू एमालेप्रति आकर्षित भएको बताइन् ।
नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै एमाले अध्यक्ष केपी ओलीले उनीहरुलाई पार्टीले उचित जिम्मेवारी दिने जानकारी दिए ।
'संविधान औचित्यका आधारमा संशोधन गर्न सकिन्छ'
एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले एमाले वैमनस्यताको अन्त्य गरेर समझदारी र सहकार्यमा देशलाई अगाडि बढाउने देशभक्त पार्टी बताए ।
उनले राष्ट्रिय एकता, मुलुकको हित र स्वाभिमानलाई लाभसँग सौदाबाजी गर्न नसकिने बताए ।
“तराई मधेशमा एमालेविरुद्ध अब आरोप लाग्न सक्दैन, हामीविरुद्ध भ्रम छर्ने काम भएको छ, त्यो भ्रमलाई चिर्न जरुरी छ,” ओलीले भने ।
सरकारको ध्यान संविधान कार्यान्वयन नभई विपरीत कुरामा गएको आरोप लगाउँदै उनले संविधान औचित्यका आधारमा संशोधन गर्न सकिने तर बलजफ्ती देशलाई अहित पार्ने गरी प्रस्ताव आएमा एमालेलाई मान्य नहुने बताए ।