यती कार्पेट आगलागीमा एक अर्ब बढीको क्षति
भक्तपुर नगरपालिका–२ सल्लाघारीमा रहेको यती कार्पेट इन्डस्ट्रिजमा गए रातिदेखि लागेको भीषण आगलागीमा एक अर्बभन्दा बढी क्षति भएको छ ।
राति ११ः३० बजेदेखि शुरु भएको आगलागी भक्तपुर वारुण यन्त्र, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा काठमाडाँ र ललितपुरका आठ दमकलबाट आठ घन्टापछि नियन्त्रणमा आएको हो ।
आगलागीबाट रु एक अर्बभन्दा बढीको सामग्री क्षति भएको प्रारम्भिक अनुमान गरिएको उद्योगका व्यवस्थापक धर्मेन्द्र यादवले जानकारी दिए ।
अनिल केडियाद्वारा सञ्चालित उक्त उद्योगमा ट्रान्सफर्मर पड्किएर आगो लागेको भक्तपुर प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले बताए ।
आगलागीबाट उद्योगकै दुई दुई सवारी साधन र पक्की भवन, जस्ताका पाँच टहरा र उद्योगसँगै जोडिएको सर्वसाधारणको एउटा पक्की भवन जलेर क्षतिग्रस्त भएको छ ।
सय जना मजदुर कार्यरत उद्योगमा राति ३५ जना कार्यरत भए पनि मानवीय क्षति भने नभएको यादवले बताए ।
उद्योगसँगै रहेको ट्रान्सफर्मर पड्केर बलेको तारबाट कारखानामा आगलागी शुरु भएको थियो । रासस