मध्यमधेशमा फेरि बन्द, जनता निराश
प्रदेश–२ मा स्थानीय तह निर्वाचनको मिति सरेपछि राजपाले आह्वान गरेको बन्द फिर्ता हुने आशा गरिएकोमा त्यसविपरित प्रदेश–२ फेरि बन्द भएको छ ।
राजपाको पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम अनुसार चार दिनको बन्दपछि खुलेको मध्यमधेशको दक्षिणी भेग फेरि बन्द हुँदा सर्वसाधारणले सास्ती खेपिरहेका छन् । राजपा कार्यकर्ताको प्रदर्शनसँगै थपिएको बन्दले मधेशका ८ जिल्ला फेरी बन्दको चपेटामा परेका छन् ।
आज विहानैदेखि राजपाका नेताकार्यकर्ताहरुले पर्साको पोखरिया, महुवन, जानकी टोला लगायतका स्थानमा टायर बालेर प्रदर्शन गरिरहेका छन् भने वीरगंजको घण्टाघर, माइस्थान, मुर्ली, नगवा, आदर्शनगर चोक, प्रतिमाचोक लगायतको स्थानमा पनि प्रदर्शन भइरहेको छ ।
बन्दका कारण औद्योगिक कोरिडोर, वीरगञ्ज बजार, शिक्षण संस्था, लामो तथा छोटो दुरीमाचल्ने सवारी साधन समेत पूर्णरुपमा ठप्प भएको छ ।
चार दिन लगातारको बन्दपछि शनिवार एकदिन मात्रै खुलेको थियो । बन्दले भन्सार कार्यलय र सुख्खा बन्दरगाह कार्यालय सिर्सियाबाट जाने सयौं ट्रकहरु जाँचपास भए पनि भन्सार यार्डमै थन्किएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
निर्वाचन मिति नसारिएको भए अन्य प्रदेश जस्तै प्रदेश–२ मा पनि आज बन्दको सट्टा मनोनय दर्ताको कार्यक्रम हुने थियो । निर्वाचन मिति सारिएका कारण यस भेगका जनता निराश भएका छन् ।
विगतमा जस्तो लामो बन्द र आन्दोलनको सास्ती फेरि दोहोरिने हो कि भनेर जनतामा सन्त्रासको वातावरण फैलिएको छ ।
जियालाल साह, वीरगञ्ज