कपिलवस्तुमा राजपा नेताद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता
कपिलवस्तुको कपिलवस्तु नगरपालिकामा राजपाका नेताहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
राजपाका नेता एवम् तत्कालीन तौलिहवा नगरपालिकाका पूर्व मेयर रामदाश गुप्ता र उपमेयर वासुदेव कसौधनले १४ असारमा हुने स्थानीय तह निर्वाचनमा कपिलबस्तु नगरपालिकाको मेयर र उपमेयरमा स्वतन्त्र उमेदवारी दर्ता गराएका हुन् ।
उनीहरु दुबै ६ दल एकीकरण भएर राजपा बन्नुअघि तराईमधेश लोकतान्त्रिक पार्टीको नेतृत्व तहमा थिए भने अहिले राजपामा छन् । पार्टीले निर्वाचन वहिस्कार गर्ने भने पनि उनीहरुले पार्टी नेतृत्वको स्वीकृतिमै उम्मेदवारी दर्ता गराएका हुन् ।
राजपाले समेत उम्मेदवारी दर्ता गराएपछि निर्वाचन शान्तिपूर्वक सम्पन्न हुने भन्दै जिल्लाका अन्य दल एवम् मतदाताहरुले खुशी व्यक्त गरेका छन् ।
यसैगरी निर्वाचन विरोधि गतिविधि गरेको भन्दै प्रहरीले तौलिहवाबाट राजपाका जिल्ला संयोजक कैलाश अग्रहरी लगायत ७ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्लाका ६ नगरपालिका र ४ गाउँपालिकामा हुने स्थानीय तह निर्वाचनका लागि विहान ८ बजेदेखि शान्तिपूर्णरुपमा उम्मेदवारी दर्ता भइरहेको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी भोजजंग शाहले जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको र सबै स्थनीय तहमा शान्तिपूर्वक मनोनयन दर्ता भइरहेको बताए ।
सबै ठाउँमा सुरक्षा व्यवस्था मिलाइएकाले निर्भयतापूर्वक उम्मेदवारी दर्ता लगायत प्रचार प्रसार कार्यमा लाग्न प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले आह्वान गरेका छन् ।
राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतो पनि आजै तौलिहवा आइपुग्दैछन् । उनले तौलिहवामा आयोजित आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
गोपाल भण्डारी, कपिलवस्तु