जाजरकोटमा फेला पर्याे विश्वमै लोपोन्मुख सेतो गिद्ध
विश्वमै लोपोन्मुख सेतो गिद्ध जाजरकोटमा फेला परेको छ ।
दुर्लभ गिद्ध बारेकोट गाउँपालिका–१ सक्लामा फेला परेको पक्षी संरक्षण सङ्घ नेपालका सदस्य तथा जिल्ला पशुसेवा कार्यालयका पशु प्राविधिक गोविन्द सिंहले जानकारी दिए ।
भेरी नगरपालिका–११ मटेलामा सेतो गिद्धको केही समयअघि गुँड फेला परे पनि अनुकूल वातावरण नपाएपछि गिद्धले गुँड छाडेर गएको सिंहले बताए । सक्लामा हालै फेला परेको सेतो गिद्धको गुँड भने फेला पार्न नसकिएको उनको भनाइ छ ।
‘प्रकृतिको कुचीकार’ गिद्धका विभिन्न प्रजातिमध्ये सेतो प्रजातिको गिद्ध विश्वमै लोप हुने अवस्थामा पुगेको छ । विश्वमै लोप हुने अवस्थामा पुगेको सुन गिद्धको एक जोडी जाजरकोटमा दुई वर्षअघि फेला परेको थियो ।
चरा संरक्षण सङ्घका अनुसार विश्वमा १३ प्रकारका गिद्ध पाइन्छन् । एशियामा पाइने ९ प्रकारका सबै गिद्ध नेपालमा पनि पाइन्छन् । त्यसमध्ये चार प्रजातिका गिद्ध जाजरकोटमा पाइने गरेका छन् । सेतो गिद्ध, सुन गिद्ध, हाडफोर गिद्ध र हिमाली गिद्ध जाजरकोटमा पाइने अध्ययनले देखाएको छ ।
पक्षी संरक्षण सङ्घले गरेको अध्ययनबाट जिल्लामा ७५ हिमाली गिद्ध, तीन जोडी हाडफोर गिद्ध तथा एक–एक जोडी सुन गिद्ध र सेतो गिद्ध छन् । जनचेतनाका अभावमा वनजङ्गलको विनाश, जथाभाबी आगलागी, गिद्धका गुँडमा ढुङ्गा हान्ने, अन्डा तानेर फालिदिने, जथाभाबी सिनोमा विष हाल्ने कारणले गिद्ध लोप हुने अवस्थामा पुगेका छन् । रासस