प्रधानमन्त्रीको गृह जिल्लामा निर्वाचनको लहर, कांग्रेसमा असन्तुष्टि
स्थानीय तहको निर्वाचनको रौनक डडेल्धुरा जिल्लामा निकै बढेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा अन्य जिल्लाको तुलनामा चुनावी चहलपहल बढी देखिएको छ । डडेल्धुराको सदरमुकाम र आसपासको क्षेत्र चुनावी उत्सवले छोपिएको छ ।
डडेल्धुरामा विशेषगरी प्रमुख तीन राजनीतिक दलबीच प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले निर्वाचनमा एकले अर्कालाई मुख्य प्रतिस्पर्धीका रुपमा हेरिरहेका छन् ।
कांग्रेसको पकडक्षेत्रका रुपमा रहेको डडेल्धुराका दुईवटा नगरपालिकासहित सातवटै तहमा १४ असारमा हुने स्थानीय तहको निर्वाचनमा पनि आफ्नो पकड कायम रहने कांग्रेसको बुझाई छ ।
कांग्रेसभित्रको टिकट वितरणको असन्तुष्टिको फाइदा उठाउने रणनीतिमा एमाले लागेको छ । कांग्रेस नेताले पनि आफ्नो मुख्य प्रतिस्पर्धी एमाले रहेको जनाइरहेका छन् ।
विभिन्न राजनीतिक दलले चुनावी प्रचारलाई निकै भड्किलो बनाएका छन् । भीमदत्त राजमार्गका छेउछाउका बस्ती र बजारमा चुनावी चहलपहल निकै देखिएको छ ।
डडेल्धुरा कांग्रेसले सबै तहमा उम्मेदवार टुङ्गो लगाए पनि पार्टीभित्र आकांक्षी धेरै भएकाले असन्तुष्टि बढेको छ । पार्टी नेतृत्वले राम्राभन्दा आफ्ना नजिककालाई टिकट दिएको भन्दै कार्यकर्ताले असन्तुष्टि व्यक्त गरिरहेका छन् । केही आकांक्षीले स्वतन्त्र उम्मेदवारी दिने चेतावनीसमेत दिइरहेका छन् । रासस