आयल निगम मासिक ३४ करोड नाफामा
नेपाल आयल निगमले मासिक ३४ करोड नाफा कमाउन थालेको छ ।
निगमले २०७१ देखि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यअनुसार स्वचालित मूल्य प्रणाली लागू गरेदेखि नाफामा गएको हो ।
नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनको दोस्रो केन्द्रीय महाधिवेशनका क्रममा आज उक्त कुराको जानकारी दिइएको हो ।
नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र शाहले घाटामा गएको निगमले अहिले फाइदामा गएर वार्षिक रु ४० अर्ब राजस्व तिर्न सफल भएको जानकारी दिए । पूर्व उद्योगमन्त्री एवं नेपाली कांंग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पेसागत इमान्दारिता, कर्मचारी एकता र संस्थागत प्रभावकारिता भएमात्र आयल निगम अगाडि बढ्ने बताए ।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले निगम फाइदामा गएको भन्दै कर्मचारीलाई बोनसको व्यवस्था गर्नुपर्ने माग गरेको छ । रासस