लण्डन आगलागीमा मत्यु हुनेको सङ्ख्या १७ पुग्यो, ३५ वेपत्ता
एक जना चर्चित फोटोग्राफर, ६ महिने एउटा बच्चा र इटालीका चित्रकारको एउटा जोडी सहित दर्जनौं व्यक्तिहरु लण्डनको २४–तले भवनमा लागेको आगलागीमा परी हराइरहेका छन् ।
घटनामा परी अहिले सम्म कम्तिमा १७ जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ भने मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने प्रहरी अधिकारीले बताएका छन् ।
बुधबार बिहानीपख २४ तले ग्रेनफेल टावरमा लागेको आगलागीका कारण झण्डै ३५ जना अझै हराई रहेका विभिन्न संचार माध्यम तथा सामाजिक सञ्जालले जनाएका छन् ।
फाराह हाम्दान, उनको श्रीमान् ओमार बेल्काडी र उनीहरुका ६ महिने छोरीका बारेमा अहिलेसम्म पनि केही थाहा पाउन नसकिएको फाराहका बुबा रकिअले बताए ।
“हामी सवै अस्पतालमा छौं, हामीले सवै समय उनीहरुलाई खोजिरहेका छौं, तर अहिले सम्म पनि उनीहरुलाई पाउन सकिरहेका छैनौं,” उनले भने । उनका ६ बर्ष र १० बर्षका अरु छोरीहरु भने अस्पतालमै भेटिएका छन् ।
घटनामा परी बेपत्ता भएका मध्ये २७ बर्षिय माक्रो गोर्टाडी र ग्लोरी ट्रेभिसानको इटालीको एउटा जोडी पनि छ । उनीहरुको मृत्यु नै भएको हुन सक्ने उनका आफन्तले अनुमान गरेका छन् । गत तीन हप्ता अगाडी मात्रै लण्डन आएका उनीहरु चित्रकार थिए ।
“आगलागीमा परी हाम्रो देशका दुई जना नागरिक बेपत्ता भएका छन्,” इटालीको विदेश मन्त्रालयका अधिकारीहरुले एएफपीसँग भनेका छन् ।
इटालीको एउटा समाचारपत्रले लेखेको छ, “गोर्टाडीले आफ्नो बुबासँग कुराकानी गरिरहेका बेला धुवा बढ्दै गइरहेको बताएका थिए, त्यही बेला फोन सम्पर्क विच्छेद भयो । ” पत्रिकाले त्यो जोडी भवनको २३औ तलामा बस्ने गरेको पनि उल्लेख गरेको छ ।
आगलागीको कारण अझै प्रष्ट नभएको र अनुसन्धान जारी रहेको जनाइएको छ ।
रासस/एएफपी