मोरङमा १४४ र बैतडीमा ३१ मतदानस्थल संवेदनशील
मोरङमा १४४ र बैतडीमा ३१ मतदान स्थललाई संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
मोरङमा ८१ मतदानस्थल संवेदनशील छन् भने ६५ मतदानस्थल अतिसंवेदनशील छन् । मोरङमा ३०० मतदानस्थल छन् । त्यस्तै बैतडीका १२० मतदानस्थलमध्ये ३१ स्थल संवेदनशील रहेको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलका अनुसार सुरक्षा संवेदनशीलताको हिसाबमा जिल्लाको उत्तरी क्षेत्र र दक्षिणी इलाकामा बढी संवेदनशील मतदान केन्द्र छन् । मोरङमा ५ लाख १४ हजार ६१८ मतदाता छन् भने कुल ६५९ मतदान केन्द्र एवम् ३०० मतदानस्थल कायम गरिएको छ ।
बैतडीका प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेलले अति विकट, खुल्ला सीमाका कारण हुनसक्ने आपराधिक घटनालाई मध्यनजर गर्दै मतदान केन्द्रको सुरक्षा स्थितिको वर्गीकरण गरिएको बताए । सुरक्षा संवेदनशीलताको हिसाबमा बैतडीमा अति संवेदनशील मतदान केन्द्र नरहेको उनको भनाइ छ ।
बैतडीमा १२० मतदानस्थल एवम् १७४ मतदान केन्द्र तय गरिएको छ । चार नगरपालिका र छ गाउँपालिका रहेको बैतडीमा एकलाख २४ हजार ८२४ जना मतदाता रहेका छन् । रासस