सरकारको निर्णय: दुई नम्बर प्रदेशमा २ असोजमा निर्वाचन
सरकारले दुई नम्बर प्रदेशमा स्थानीय तहको निर्वाचनका लागि नयाँ मिति २ असोज तोकेको छ ।
सत्तारुढ दलहरु र राजपासँग भएको सहमतिपछि आज बसेको मन्त्रिपरिषदको बैठकले २ असोजका लागि नयाँ मिति तोकेको हो । यसअघि सरकारले निर्वाचन आयोगसँग समेत परामर्श गरेको थियो ।
त्यसैगरी एक, पाँच र सात नम्बर प्रदेशमा १४ असारमै हुने निर्वाचनका लागि राजपालाई सजिलो बनाउन सरकारले उमेदवारी मनोनयन दर्ताको मिति दुई दिन सारेर ४ असारमा गर्न निर्वाचन आयोगलाई प्रस्ताव गरेको छ ।
राष्ट्रिय जनता पार्टीलाई चुनावमा भाग लिन सजिलो होस भनेर भोलिका लागि तोकिएको मनोनयन दर्ता मिति ४ गतेलाई सार्न प्रस्ताव गरिएको उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले जानकारी दिए ।
निर्वाचनबारे सरकारको निर्णयबारे छलफलका लागि सिंहदरबार बोलाइएका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचन मिति सार्ने सरकारको निर्णयले आयोगलाई वेखुशी बनाएको प्रतिक्रिया दिए । उनले भने, “निर्वाचन मिति सार्ने सरकारको निर्णयप्रति हामी खुशी छैनौं ।”