मेलम्चीको पानी दशैंअघि नआउने निश्चित
बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको काममा सुस्तता आएकाले निर्धारित समयभित्र पूरा नहुने निश्चित भएको छ ।
२७.५ किमी सुरुङमध्ये तीन किमी सुरुङ खन्ने काम अझै बाँकी रहेकोले दशैं अगाडि मेलम्चीको पानी काठमाडौं उपत्यकामा नआउने निश्चित भएको हो ।
सिन्धुपाल्चोकको अम्बाथानदेखि ग्याल्थुमसम्म १.५ किमी र ग्याल्थुमदेखि सिन्धुसम्म १.५ किमी सुरुङ निर्माण गर्न अझै बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले जानकारी दिए ।
दैनिक १५ देखि २३ मिटरसम्म मात्र सुरुङ खन्ने काम भएकाले दशैंको लक्ष्य भेट्न मुस्किल परेको दुवाडीले बताए ।
कडा चट्टानका कारण अपेक्षित रुपमा काम गर्न नसकिएको दुवाडीको भनाई छ । दशैंअघि उपत्यकामा पानी पुर्याउन दैनिक ३५ मिटरका दरले सुरुङ निर्माण हुनुपर्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । रासस