सत्तारुढ दल र राजपाबीच दुई नम्बर प्रदेशको निर्वाचन सार्ने सहमति
सत्तारुढ दल र राष्ट्रिय जनता पार्टीबीच दुई नम्बर प्रदेशको निर्वाचन सार्ने सहमति भएको छ ।
राजपा र सत्तारुढ दलहरुबीच आज सिंहदरबारमा भएको बैठकमा प्रदेश नम्बर एक, पाँच र सात मा १४ असारमै र दुई नम्बर प्रदेशमा भने असोजमा निर्वाचन गर्ने सहमति भएको गृहमन्त्री एवम् माओवादी केन्द्रका नेता जनार्दन शर्माले जानकारी दिए ।
निर्वाचन सार्ने बारे सरकारले औपचारिक निर्णय गर्न भने बाँकी नै छ ।
मन्त्री शर्माले प्रधानमन्त्रीले निर्वाचन आयोगसँग छलफल गरी एक, पाँच र सात नम्बरमा उमेदवारी मननोनयन दर्ताको मिति सार्नेबारेमा पनि छलफल गर्ने बताए ।
उनका अनुसार दुई नम्बर बाहेकका प्रदेशमा १४ असारमा हुने स्थानीय तहको निर्वाचनमा राजपा पनि सहभागी हुनेछ ।
दुई नम्बरका लागि नयाँ निर्वाचन मिति तोक्न सरकारले आजै निर्वाचन आयोगसँग छलफल गर्ने भएको छ ।