तेस्रो दिनको बन्दले पर्सा र बाराको जनजीवन प्रभावित
निर्वाचनको विरोध गरिरहेको राजपाको आन्दोलनका कारण आज पनि बारा, पर्सा लगायत मधेशको केही जिल्लाहरुको जनजीवन प्रभावित भएको छ ।
बाराको दक्षिणी भेग र पर्सामा बन्दका कारण तीन दिनदेखि सार्वजनिक सवारी साधन चलेको छैन भने बजार पनि बन्द हुँदा सर्वसाधारण सकसमा छन् ।
संविधान संशोधन नगरेरै सरकारले स्थानीय तहको निर्वाचन गराउन लागेको भन्दै राजपाले चार दिने बन्दको आह्वान गरेको हो ।
आजदेखि शुरु भएको कक्षा ११ को परीक्षामा भने आन्दोलनकारीले अवरोध नपुर्याए पनि सार्वजनिक सवारी साधन नचल्दा परीक्षार्थीहरुलाई लामो दूरी पैदल यात्रा गर्नु परेको छ ।
फोरमको कार्यक्रम विथोल्ने प्रयास
वीरगन्जको भिस्वामा आज विहान आयोजित संघीय समाजवादी फोरम नेपालको कार्यकर्ता भेला विथोलिदिएको राजपाका नेताहरुले दाबी गरेका छन् ।
फोरम नेपालका मधेश प्रदेश सचिव विजय सरावगीको विशेष उपस्थितिमा आयोजित कार्यकर्ता भेला विथोलेको राजपाकी नेतृ मुन्नी श्रीवास्तवले बताईन् ।
तर फोरम नेपालले भने भेला सफलतापूर्वक सम्पन्न भएको दावी गरेको छ ।
संगठन सुदृढिकरण, आसन्न स्थानीय तह निर्वाचनको तयारी लगायतका विषयमा भेलामा छलफल भएको समाजवादी विद्यार्थी फोरम नेपालका केन्द्रीय सदस्य निखिल वर्णवालले बताए ।
“भेला बिथोल्न आएका केही मानिसहरुलाई स्थानीयवासीले नै लखेटेर पठाए,” वर्णवालले भने ।
भेला शुरु भएको एक घण्टापछि राजपाका केही नेता र कार्यकर्ताहरु भाटा बोकेर नाराबाजी गर्दै कार्यक्रम स्थल पुगेका थिए ।
कार्यक्रम स्थलमा होहल्ला गर्दै प्रवेश गरेका व्यक्तिहरुलाई स्थानीयवासीले लखेटेर धपाउने क्रममा केही तनाव भए पनि पछि स्थिती सामान्य बनेको उनले दाबी गरे ।
मोटरसाईकलमा तोडफोड
वीरगन्जको घण्टाघर चोकमा बिहान आन्दोलनकारीहरुले एउटा मोटरसाइकल तोडफोड गरेका छन् ।
बन्द हडतालका बेला भाडामा यात्री ओसारको भन्दै आन्दोलनकारीहरुले ना १२ प ४२७१ नम्बरको मोटरसाइकलमा तोडफोड गरेका हुन् ।
टायर बालेर प्रदर्शन
राजपाका नेता कार्यकर्ताहरुले आज, १ असार बिहानै विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका छन् ।
वीरगञ्जको घण्टाघर चोक, आदर्शनगर, छपकैया, मुर्ली, पावर हाउस चोक, पिपरा, गण्डक चोक, पर्साको पोखरीया, पकाहा चोक, सखुवा प्रसौनी, भिस्वा, जानकीटोला तथा बाराको कलैया, परवानीपुर, नितनपुर, गण्डक बहुअरी, प्रस्टोका, प्रसौनी लगायतका स्थानमा बिहानैदेखि टायर बालेर प्रदर्शन भएको छ ।
सुरेश बिडारी, वीरगञ्ज