लख्खाभाइ मेयरका उम्मेदवार
अखण्ड सुदूरपश्चिम आन्दोलन चलाएर चर्चामा आएका पुष्करराज जोशी ‘लख्खाभाइ’ मेयरका उम्मेदवार बनेका छन् ।
१४ असारमा हुने स्थानीय तह निर्वाचनमा बैतडीको दशरथचन्द नगरपालिकाको मेयरका लागि लख्खाभाइ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका हुन ।
पहिलो संविधानसभा विघटन हुनुअघि ३२ दिनसम्म सुदूरपश्चिममा आमहड्तला गरेर उनकै नेतृत्वमा अखण्ड सुप आन्दोलन चलेको थियो ।
दशरथचन्द नगरपालिका–९ ग्वाल्लेक, बैतडीका बासिन्दा लख्खाभाइ नेपालमा भन्दा पनि भारतको छिमेकी राज्य उत्तराखण्ड र उत्तर प्रदेशमा चर्चित छन् ।
२०६० मा कुमाउँ विश्वविद्यालय, नैनितालको छात्र महासँघको सभापति निर्वाचित भएर उनले चर्चा बटुलेका थिए । नेपालबाहिरका विश्वविद्यालयमा निर्वाचनबाट विद्यार्थी संगठनको नेतृत्वमा पुग्ने उनी पहिलो नेपाली विद्यार्थी हुन् ।
उत्तर प्रदेशबाट उत्तराखण्ड अलग हुँदा आन्दोलनको नेतृत्व गरेका कारण पनि उनी उत्तरप्रदेश र उत्तराखण्डमा चर्चित छन् ।
उनकै पहलमा सन् १९७१ मा भारतको पिथौराढमा मारिएका बैतडीको पुर्चौडीका सोभान सिंह नेपालीको २०६० मा भारत सरकारले शालिक निर्माण गरेको थियो ।
सुदूरपश्चिम जागरण मञ्च गठन गरेर अखण्ड सुपको आन्दोलन गरेका उनी २०७० को संविधानसभा निर्वाचनमा बैतडी क्षेत्र नं. २ बाट उम्मेदवार समेत बनेका थिए ।
स्थानीय तह निर्वाचनमा भने उनी राप्रपाबाट उम्मेदवार बनेका छन् । “राजनीति कसरी गर्नुपर्छ, विकास कसरी गनुपर्छ भन्ने देखाउन मेयरको उम्मेदवार बनेको हुँ” लख्खाभाइ भन्छन् ।
दशरथचन्द नगरपालिकामा नेपाली कांग्रेसले नरेन्द्र थापा, नेकपा (एमाले)ले देवदत्त भट्ट र नेकपा (माओवादी) केन्द्र)ले खिमानन्द भट्टलाई मेयरको उम्मेदवार बनाएको छ ।
त्यस्तै उपमेयरमा कांग्रेसबाट मीना चन्द, एमालेबाट सरस्वती नेपाली, माओवादी केन्द्रबाट कमला कार्की र राप्रपाबाट अम्विका भण्डारी उम्मेदवार बनेका छन् ।
चार नगरपालिका र छ गाउँपालिका रहेको बैतडीमा काँग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
बच्चु विक, बैतडी