तोकिएकै मितिमा निर्वाचन गर्नुपर्छः एमाले
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय तहको दोस्रो चरणको निर्वाचन तोकिएको मितिमै गर्नुपर्नेेमा जोड दिएको छ ।
आज बसेको एमाले स्थायी कमिटीको बैठकले तोकिएकै मितिमा निर्वाचन गरेर देशलाई विकासको बाटोमा हिडाउनुपर्ने बताएको हो ।
बैठकले सबै राजनीतिक दलसँग संवाद गरी १४ असारमै निर्वाचन सम्पन्न गर्न सरकारलाई आग्रह गरेको छ ।
सरकारले नै निर्वाचनका बारेमा भ्रम फैलाउने, अनिश्चतता सिर्जना गर्ने र राजनीतिक अस्थिरतालाई बढावा दिइरहेको भन्दै एमालले आपत्ति जनाएको छ ।
समयमै निर्वाचन सम्पन्न गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गर्दै बैठकले स्थानीय तहको निर्वाचन र संविधान संशोधन अलग विषय भएको उल्लेख गरेको छ ।
स्थानीय तहको निर्वाचनमा भाग लिन र राजनीतिक स्थायित्वमा भूमिका निर्वाह गर्न राष्ट्रिय जनता पार्टीलगायत सबै राजनीतिक दललाई एमालेले आह्वानसमेत गरेको छ ।