रौतहट: दुईवटा गाडी तोडफोड, राजपाका दुई केन्द्रीय सदस्य पक्राउ
राजपा नेपालले आह्वान गरेको मधेस बन्दको दोस्रो दिन रौतहटको दक्षिणी भेगको जनजीवन ठप्प भएको छ । शिक्षण संस्था बन्द छन् । सरकारी कार्यालयहरु खुले पनि यातायात ठप्प रहेकोले सेवाग्राहीको चाप न्यून छ ।
जिल्लाको मध्य तथा दक्षिणी क्षेत्रका बजारहरु बन्द छन् । राजपाका कार्यकर्ताहरुले ठाउँ ठाउँमा प्रदर्शन गरेका छन् ।
बन्दको अवज्ञा गरेको भन्दै राजपाका कार्यकर्ताहरुले ना ३ ख ५६२२ नम्बरको बसमा ढुंगामुढा गरी सिसा फुटाएका छन् । बसपार्कमा थन्क्याउन लैजाँदै गरिएको बसलाई आन्दोलनकारीहरुले सदरमुकाम गौरमै आक्रमण गरेर क्षति पु¥याएका हुन् ।
यसै गरी चन्द्रपुर–गौर सडक खन्डको पिपरा भगवानपुरस्थित बहुअर्वा चोकमा राजपा कार्यकर्ताहरुले बीआर २९ बी ४१४१ नम्बरको बोलेरोमा तोडफोड गरेका छन् ।
बोलेरोमाथि आक्रमण गर्ने राजपाका केन्द्रीय सदस्यद्वय राज किशोर यादव र कमलेश सिंह र नेता बच्चा चौबेलाई प्रहरीले पक्राउ गरेको छ ।
आक्रमणकारीलाई पक्राउ गर्ने क्रममा प्रहरी र आन्दोलनकारी बीच सामान्य झडप समेत भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
पक्राउ परेकालाई प्रहरी नियन्त्रणमा राखी आवश्यक अनुसन्धान भइरहेको र जिल्लाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी नविनकृष्ण भन्डारीले बताएका छन् ।
सञ्जय मित्र, रौतहट