पानी बोक्ने घोडा
गाडी नपुगेका पहाडी क्षेत्रमा अहिले पनि एकठाउँबाट अर्को ठाउँ पुग्ने, सामान ओसार्ने भरपर्दो माध्यम घोडा नै हो । तर, धेरै ठाउँमा गाडी पुगेसँगै घोडाको सान्दर्भिकता कम हुँदै गएको छ। मेलौली नगरपालिका–१ बैतडीका विजय नायक भने यतिबेला घोडालाई पानी बोकाइरहेका छन् । बिजु होटलका सञ्चालक नायक भन्छन्, “घोडा राखेर सजिलो भएको छ, नत्र पानी बोक्दाबोक्दै घाम डुब्थ्यो ।”
मेलौली वडा नं. १, ६ र ७ मा पर्ने बजार क्षेत्रको जनसंख्या पाँच हजारको हाराहारीमा छ। यसबाहेक सरकारी तथा गैरसरकारी संस्था, मणिलेक बहुमुखी क्याम्पस र उच्च माविलगायतमा कार्यरत कर्मचारी र विद्यार्थीको आवतजावत त छँदैछ। शिवनाथ र पञ्चेश्वर गाउँपालिका पुग्न पनि मेलौलीको यही बाटो हुँदै जानुपर्छ ।
मेलौलीको मुख्य समस्या भन्नु नै खानेपानी र बिजुली हो। सबैभन्दा नजिकको मटेना खोला पुग्न एकघण्टा लागे पनि पालो पर्खने र फर्किंदाको उकालोले ठूलो सास्ती दिएको छ। कहिलेकाहीं त बिहान हिंडेको बेलुकी मात्र घर आइपुगिन्छ ।
“बिजुली आए त मोटरले पानी तान्न मिल्थ्यो होला, अरु त उपाय नै छैन”, नायक भन्छन्। वर्ष दिन अघि पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनास्थल पुग्ने गरी मेलौलीमा सडक पुगे पनि बिजुली कहिले आउने हो टुंगो छैन ।