कञ्चनपुरमा त्रिपक्षीय प्रतिस्पर्धा
स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा कञ्चनपुरका ९ वटै तहमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।
संविधानसभाको दोस्रो निर्वाचनमा कञ्चनपुरका चारवटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस निर्वाचित भएको थियो ।
सबैभन्दा पहिले उम्मेदवार टुङ्गो लगाएर घरदैलोमा जुटिरहेको नेकपा एमाले चुनावी प्रचारमा सबैभन्दा अगाडि देखिएको छ । जिल्लाको अधिकांश स्थानीय तहमा कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने धेरैको अनुमान छ ।
राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति पार्टी लगायतका साना दल चुनावी प्रतिस्पर्धामा भएपनि प्रतिस्पर्धामा निकै कमजोर देखिएका छन् । भीमदत्त नगरपालिकामा भने राष्ट्रिय प्रजातन्त्र पार्टी बलियो देखिएको छ ।
प्रमुख राजनीतिक दलले भीमदत्त नगरपालिकालाई अस्तित्वको लडाँई सम्झिएका छन् । नेपाली कांग्रेसले भीमदत्तको प्रमुखमा पदम बोगटीलाई उम्मेदवार बनाएको छ ।
त्यसैगरी, नेकपा एमालेबाट उम्मेदवार बनेका सुरेन्द्र विष्ट एमाले कञ्चनपुरका सचिव हुन् । नेकपा माओवादी केन्द्रले पार्टीका केन्द्रीय सदस्य गोपाल रसाइलीलाई भीमदत्तको प्रमुखमा उम्मेदवार बनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीमा नवप्रदेशी गजेन्द्रबहादुर चन्द प्रमुख पदको उम्मेदवार भएयता प्रचारलाई तीव्रता दिइरहेका छन् । कञ्चनपुर निर्माण व्यवसायी सङ्घको अध्यक्षसमेत रहेका चन्द भीमदत्तमा युवापुस्तामाझ बढी परिचित छन् । लोकप्रिय हुँदाहुँदै पनि सङ्गठन कमजोर भएकाले उनलाई निर्वाचन जित्न निकै सकस पर्ने देखिन्छ ।
ससुरा–ज्वाइँ चुनावी मैदानमा
कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालमा भने ससुरा–ज्वाइँबीच कडा प्रतिस्पर्धा हुने भएको छ । उक्त वडामा नेपाली कांग्रेसले गजेन्द्र चन्दलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ ।
त्यस्तै नेकपा एमालेले गणेशबहादुर चन्दलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । गणेशबहादुर चन्द कांग्रेस उम्मेदवार गजेन्द्र चन्दका सहोदर छोरी ज्वाइँ हुन् ।
शेरबहादुर सिंह, रासस